जनकपुरधाम, माघ ७ । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनलाई ‘भेला’को संज्ञा दिँदै सभापति गगन थापालाई अस्वीकार गर्दै आएका देउवा र कोइराला समूहका नेताहरू अन्ततः थापाकै हस्ताक्षर रहेको निर्वाचन टिकट स्वीकार गर्दै प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनेका छन् । यस घटनाले कांग्रेसभित्रको आन्तरिक विवाद व्यवहारिक राजनीतिमा आएर कमजोर बन्दै गएको संकेत दिएको छ ।
गत पुस २७ देखि माघ १ गतेसम्म सम्पन्न विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा नयाँ केन्द्रीय समिति चयन गरेको थियो । तर पूर्व सभापति शेरबहादुर देउवा र नेता डा। शेखर कोइराला समूहले उक्त महाधिवेशनलाई पार्टी विधान विपरीत भएको दाबी गर्दै अस्वीकार गरेका थिए । उनीहरूले निर्वाचन आयोग र सर्वोच्च अदालतसम्म पुगेर विशेष महाधिवेशनलाई अवैधानिक ठहर गर्न माग गरेका थिए ।
निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई मान्यता दिएपछि पार्टीभित्रको शक्ति सन्तुलन बदलिन थाल्यो । उम्मेदवार छनोट र टिकट वितरणको चरणमा पुगेपछि देउवा र कोइराला समूह लचिलो देखिएका छन् । विशेष महाधिवेशन पक्षले सबै समूहलाई समेटेर टिकट वितरण गर्ने आश्वासन दिएपछि त्रिपक्षीय संवाद सुरु भएको थियो ।
यसै क्रममा देउवा र कोइराला समूहका अधिकांश शीर्ष नेताहरूले सभापति थापाको हस्ताक्षरमा जारी टिकट लिएर उम्मेदवारी दर्ता गराएका छन् । डा। शेखर कोइराला स्वयं मोरङ–६ बाट उम्मेदवार बनेका छन् भने देउवा समूहका विमलेन्द्र निधि, प्रकाशशरण महत, ज्ञानेन्द्रबहादुर कार्की, एनपी साउद, नैनसिंह महरलगायत नेताहरूले पनि टिकट पाएका छन् ।

यद्यपि पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशनलाई अवैधानिक ठहर गर्दै आफू उम्मेदवार नबन्ने अडान कायमै राखेका छन् । उनले भने पार्टीका आधिकारिक उम्मेदवारलाई जिताउन कार्यकर्तालाई अपिल गरेका छन् ।
समग्रमा, विशेष महाधिवेशन र नेतृत्वलाई सार्वजनिक रूपमा अस्वीकार गरे पनि व्यवहारिक राजनीतिमा आएर देउवा र कोइराला समूह थापाको नेतृत्व स्वीकार गर्न बाध्य बनेका छन् । यसले कांग्रेसभित्रको आन्तरिक विवाद चुनावी प्रतिस्पर्धाको दबाबमा क्रमशः मत्थर हुँदै गएको देखाउँछ ।







