सुनको भाउ एकैदिन तोलामा १० हजार ४ सयले उकालो, ३ लाख नजिक पुग्यो



काठमाडौं ,माघ ७ । नेपाली बजारमा सुनको भाउले नयाँ कीर्तिमान बनाएको छ । एकैदिन तोलामा १० हजार ४ सय रुपैयाँले बढ्दै सुनको मूल्य ३ लाख नजिक पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको भाउ प्रतितोला २ लाख ९५ हजार १ सय रुपैयाँ निर्धारण गरिएको छ, जुन हालसम्मकै उच्च मूल्य हो ।

यसअघि मंगलबार सुन प्रतितोला २ लाख ८४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । एकैदिन यति ठूलो मात्रामा मूल्य वृद्धि भएपछि बजारमा सुन किनबेच सुस्ताएको व्यवसायीहरूले बताएका छन् । उच्च मूल्यका कारण सामान्य उपभोक्ताहरू सुन खरिद गर्न हिच्किचाइरहेका छन् भने लगानीकर्ताको चासो भने बढ्दै गएको देखिन्छ ।



अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढिरहेकाले त्यसको प्रत्यक्ष असर नेपाली बजारमा परेको महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔंस ४ हजार ८ सय ५० अमेरिकी डलर नाघेको छ । अमेरिकी डलरको मजबुती, विश्वव्यापी आर्थिक अनिश्चितता, युद्ध तथा भूराजनीतिक तनावका कारण सुरक्षित लगानीको रूपमा सुनतर्फ आकर्षण बढ्दा मूल्य उकालो लागेको विश्लेषण गरिएको छ ।

सुनसँगै चाँदीको भाउ पनि बढेको छ । बुधबार चाँदीको मूल्य प्रतितोला ४० रुपैयाँले वृद्धि भएको छ । अघिल्लो दिन प्रतितोला ५ हजार ८ सय ८० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार ५ हजार ९ सय २० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

सुनचाँदी व्यवसायीहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा मूल्य स्थिर नभएसम्म नेपाली बजारमा पनि सुनचाँदीको भाउ घट्ने सम्भावना न्यून देखिन्छ । आगामी दिनमा मूल्य अझै बढ्न सक्ने अनुमानसँगै उपभोक्तालाई आवश्यकतानुसार मात्र खरिद गर्न सुझाव दिइएको छ ।

प्रकाशित मिति: २०८२ माघ ७, बुधबार ११:२१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको