७० प्रतिशत मत ल्याएर जित्ने ओलीको दाबी



झापा, माघ ७ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा ७० प्रतिशतसम्म मत ल्याएर एमालेले जित हासिल गर्ने दाबी गरेका छन् । कांग्रेस संगठनात्मक रूपमा कमजोर अवस्थामा रहेको र पूर्वमाओवादी धारका धेरै मतदाता पनि एमालेमै भोट हाल्ने मनस्थितिमा रहेको उनको भनाइ छ ।

कमल गाउँपालिकामा कार्यकर्तासँगको भेटमा ओलीले झापा क्षेत्रको विकास, राजनीतिक रुपान्तरण र जनआधारका कारण सिंगो क्षेत्र एमालेको पक्षमा एकढिक्का रहेको दाबी गरे । उनले खसेको कुल मतमध्ये दुईतिहाइभन्दा बढी मत एमालेले प्राप्त गर्ने दाबीसमेत गरे ।

ओलीले पछिल्लो समय देखिएको ‘जेन–जी आन्दोलन’लाई लक्षित गर्दै राजनीतिलाई अपराधीकरण हुनबाट जोगाउनुपर्ने आवश्यकता औंल्याए । उनले राजनीतिक गतिविधिभन्दा आपराधिक गतिविधि हावी हुन थालेको आरोप लगाउँदै त्यसले देशलाई अस्थिरतातर्फ धकेल्ने खतरा रहेको बताए ।

‘हामीले भने अनुसार चल्नुपर्छ भन्ने दबाब आउन सक्छ, तर त्यस्तो दबाब स्वीकार्य हुँदैन,’ ओलीले भने, ‘कांग्रेस र एमाले मिल्न नदिने, देशमा विदेशी हस्तक्षेप बढाउने उद्देश्यले यस्ता गतिविधि गराइएको छ । अस्थिरताको खेतीबाट देशलाई जोगाउनु अहिलेको आवश्यकता हो ।’

दमकमा भएका केही घटनालाई उदाहरण दिँदै ओलीले नगरपालिका र व्यावसायिक भवनमा आगजनी किन गरियो भन्ने प्रश्न उठाए । दमकलाई नमूना सहरका रूपमा विकास गर्न सकिने अवस्था हुँदाहुँदै विकास निर्माणमा अवरोध पुर्‍याउने काम भएको उनले बताए । भ्यू टावरको साटो आईटी हबका रूपमा विकास गर्न सकिन्थ्यो भन्दै उनले हिंसात्मक गतिविधिको आलोचना गरे ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ९बालेन०लाई लक्षित टिप्पणी गर्दै ओलीले सुकुमबासी बस्तीमा डोजर चलाउनेहरूले भूमिहीन नागरिकको स्थायी बसोबासको समाधान दिन नसक्ने बताए । उनले विपन्न आवास कार्यक्रम र एकीकृत बस्ती विकास योजनामार्फत धेरै नागरिकले घरबास पाएको स्मरण गराउँदै योजनाबद्ध विकास नै दीर्घकालीन समाधान भएको दाबी गरे ।

प्रकाशित मिति: २०८२ माघ ८, बुधवार १८:०९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको