काठमाडौं, माघ ७ । देशको सार्वजनिक ऋण २८ खर्ब रुपैयाँ नाघेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२\८३ को पुस मसान्तसम्मको विवरणअनुसार पछिल्लो ६ महिनामा मात्रै सार्वजनिक ऋण १ खर्ब ३२ अर्ब रुपैयाँले बढेको हो।
असार मसान्तसम्म २६ खर्ब ७४ अर्ब ४ करोड रुपैयाँ रहेको सार्वजनिक ऋण पुस मसान्तसम्म आइपुग्दा २८ खर्ब ६ अर्ब ३९ करोड रुपैयाँ पुगेको छ। यस अवधिमा कुल सार्वजनिक ऋण ४.९५ प्रतिशतले वृद्धि भएको छ।
पुस महिनामा मात्र सरकारले ३६ अर्ब ४३ करोड रुपैयाँ ऋण उठाएको छ। यसमध्ये ३० अर्ब रुपैयाँ आन्तरिक ऋण र ६ अर्ब ४३ करोड रुपैयाँ बाह्य ऋण रहेको छ। सोही महिनामा सरकारले ऋणको साँवा तथा ब्याज भुक्तानीमा २० अर्ब ११ करोड रुपैयाँ खर्च गरेको छ। यसरी पुस महिनामा मात्रै सरकारले भुक्तानीभन्दा १६ अर्ब ३१ करोड रुपैयाँ बढी ऋण थप गरेको देखिन्छ।
हाल कुल सार्वजनिक ऋणमध्ये बाह्य ऋणको हिस्सा ५३ प्रतिशत रहेको छ। विवरणअनुसार १४ खर्ब ८७ अर्ब २६ करोड रुपैयाँ बाह्य ऋण र १३ खर्ब १९ अर्ब १३ करोड रुपैयाँ आन्तरिक ऋण रहेको छ। यद्यपि बाह्य ऋण अझै बढी भए पनि आन्तरिक ऋणको भार तीव्र रूपमा बढ्दै गएको देखिन्छ।
सार्वजनिक ऋणको अनुपात कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४५.९५ प्रतिशत पुगेको छ। यसमध्ये आन्तरिक ऋण २१.६० प्रतिशत र बाह्य ऋण २४।३५ प्रतिशत रहेको छ। पछिल्लो जनसंख्याका आधारमा प्रतिव्यक्ति सार्वजनिक ऋण करिब ९६ हजार रुपैयाँ पुगेको छ।
सरकारले चालु आर्थिक वर्षमा ५ खर्ब ९५ अर्ब ६६ करोड रुपैयाँ ऋण परिचालन गर्ने लक्ष्य राखेको छ। पुस मसान्तसम्म २ खर्ब १४ अर्ब ५५ करोड रुपैयाँ ऋण प्राप्त भएको छ, जुन वार्षिक लक्ष्यको ३६.०२ प्रतिशत हो।




