एसइई परीक्षा चैत १९ देखि २९ गतेसम्म सञ्चालन हुने



काठमाडौँ, माघ ७ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आगामी चैत १९ गतेदेखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले बुधबार परीक्षा तालिका सार्वजनिक गर्दै परीक्षा मिति औपचारिक रूपमा घोषणा गरेको हो ।

बोर्डद्वारा सार्वजनिक गरिएको तालिका अनुसार चैत १९ गते पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ । त्यसपछि चैत २० गते अनिवार्य नेपाली विषयको परीक्षा सञ्चालन गरिनेछ । चैत २२ गते अनिवार्य गणित, २३ गते विज्ञान तथा प्रविधि र २४ गते सामाजिक अध्ययन विषयको परीक्षा तय गरिएको छ ।

यस्तै, चैत २५ गते ऐच्छिक प्रथम खण्डका सबै विषयहरूको परीक्षा हुनेछ भने चैत २६ गते ऐच्छिक द्वितीय खण्डका सबै विषयहरूको परीक्षा सञ्चालन हुने बोर्डले जनाएको छ । परीक्षा नियन्त्रक ९कक्षा १०० टुकराज अधिकारीका अनुसार चैत २७, २८ र २९ गते प्राविधिक धारतर्फका बाँकी विषयहरूको परीक्षा सञ्चालन गरिनेछ ।

यस वर्ष प्रतिनिधि सभाको निर्वाचन फागुन २१ गते तय भएकाले एसइई परीक्षा अघिल्लो वर्षको तुलनामा केही ढिलो हुन लागेको बोर्डले स्पष्ट पारेको छ । गत वर्ष एसइई परीक्षा चैत ७ गतेदेखि सुरु भएको थियो भने यसपटक करिब १२ दिन पछि परीक्षा सञ्चालन हुन लागेको हो ।

राष्ट्रिय परीक्षा बोर्डले परीक्षालाई मर्यादित, व्यवस्थित र निष्पक्ष रूपमा सम्पन्न गर्न आवश्यक सम्पूर्ण तयारी भइरहेको जनाएको छ । साथै, विद्यार्थीहरूलाई परीक्षा तालिका अनुसार नियमित अध्ययन गर्न र कुनै पनि भ्रममा नपर्न बोर्डले आग्रह गरेको छ ।

देशभरका हजारौँ विद्यार्थी सहभागी हुने एसइई परीक्षालाई विद्यालय शिक्षा प्रणालीको महत्वपूर्ण चरणका रूपमा लिइन्छ । बोर्डले परीक्षा केन्द्र, सुरक्षा व्यवस्था र उत्तरपुस्तिका परीक्षणसम्बन्धी तयारीसमेत अन्तिम चरणमा पुगेको जनाएको छ ।

प्रकाशित मिति: २०८२ माघ ८, बुधवार १७:४९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको