काठमाडौं, माघ ७ । विघटित प्रतिनिधिसभाको चौथो शक्ति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ १७ जना महिला उम्मेदवार उठाएको छ। रास्वपाले विभिन्न प्रदेशमा महिलाको सहभागिता सुनिश्चित गर्ने प्रयास गरे पनि लुम्बिनी प्रदेशमा भने महिला उम्मेदवार नउठाएको देखिएको छ।
प्रदेशगत रूपमा हेर्दा रास्वपाले कोशी प्रदेशबाट सबैभन्दा धेरै ५ जना महिला उम्मेदवार उठाएको छ। मधेश र बागमती प्रदेशबाट समान रूपमा ४\४ जना महिला उम्मेदवार छन्। यस्तै, कर्णाली प्रदेशबाट २ जना, गण्डकी र सुदूरपश्चिम प्रदेशबाट १र१ जना महिला उम्मेदवार रहेका छन्।
कोशी प्रदेशका २८ निर्वाचन क्षेत्रमध्ये सुनसरी–१ बाट सरिन तामाङ उम्मेदवार बनेकी छन्। झापाबाट झापा–१ मा पूर्व समानुपातिक सांसद निशा डाँगी र झापा–२ मा पूर्व उपसभामुख इन्दिरा रानामगर उम्मेदवार छन्। मोरङ–५ बाट आशा झा र मोरङ–६ बाट रुविना आचार्य उम्मेदवार बनेकी छन्।
मधेश प्रदेशका ३२ निर्वाचन क्षेत्रमध्ये सप्तरी–१ बाट पुष्पा चौधरी, धनुषा–१ बाट किशोरी साह, महोत्तरी–४ बाट गौरीकुमारी यादव र सर्लाही–१ बाट नितिमा कार्कीलाई रास्वपाले उम्मेदवार बनाएको छ।
बागमती प्रदेशका ३३ निर्वाचन क्षेत्रमध्ये धादिङ–१ बाट सामाजिक अभियन्ता आशिका तामाङ उम्मेदवार बनेकी छन्। काठमाडौं–१ बाट रञ्जु दर्शना उम्मेदवार बनेकी छन्, जसलाई समानुपातिक सूचीबाट हटाएर प्रत्यक्षतर्फ उठाइएको हो। यस्तै, चितवन–२ बाट सोविता गौतम उम्मेदवार बनेकी छन्।
गण्डकी प्रदेशको कास्की–३ बाट विना गुरुङ उम्मेदवार छन्। कर्णाली प्रदेशमा हुम्लाबाट टासी ल्हाजोम र जुम्लाबाट विनिता कठायत उम्मेदवार बनेकी छन्। सुदूरपश्चिम प्रदेशको कैलाली–१ बाट कोमल ज्ञवाली उम्मेदवार बनेकी छन्।
महिला सहभागिता बढाउने नारासहित अघि बढेको रास्वपाले प्रत्यक्ष निर्वाचनमा १७ महिला उम्मेदवार उठाएको भए पनि लुम्बिनी प्रदेशमा महिला उम्मेदवार नहुनु भने आलोचनाको विषय बनेको छ।




