कैदीबन्दीको चाप बढेपछि चितवन कारागारबाट ८१ जनाको स्थानान्तरण



चितवन ,माघ ८ । कारागार कार्यालय चितवनमा कैदीबन्दीको चाप अत्यधिक बढेपछि ८१ जना कैदीबन्दीलाई विभिन्न कारागारमा स्थानान्तरण गरिएको छ। कारागार प्रशासनले चालु आर्थिक वर्षको साउन महिनादेखि हालसम्म चरणबद्ध रूपमा उनीहरूलाई देशका विभिन्न कारागारमा पठाएको जनाएको छ।

कारागार कार्यालयका सूचना अधिकारी चेतनाथ ढुङ्गानाका अनुसार कैदीबन्दीको संख्या क्षमता भन्दा बढी भएपछि व्यवस्थापन सहज बनाउन स्थानान्तरण प्रक्रिया अघि बढाइएको हो। स्थानान्तरण गरिएका कैदीबन्दीहरूलाई मकवानपुरको भीमफेदी, कपिलवस्तु, नुवाकोट, काठमाडौँको जगन्नाथदेवल, कास्की, नवलपरासी र नख्खु कारागार पठाइएको उहाँले जानकारी दिनुभयो।



हाल चितवन कारागारमा ३९ जना महिला सहित कुल ६३२ जना कैदीबन्दी रहेका छन्। उनीहरूसँगै दुई जना आश्रित बालबालिका पनि कारागारभित्रै रहेका छन्। जबकि चितवन कारागारको कुल क्षमता ५०५ जना मात्र रहेको छ। यसमध्ये ३० जना महिलाका लागि र ४७५ जना पुरुषका लागि क्षमता निर्धारण गरिएको छ।

सूचना अधिकारी ढुङ्गानाका अनुसार चितवन कारागारमा चितवन र नवलपरासी ९बर्दघाट–सुस्ता पूर्व० जिल्लामा छुट्टै कारागार नहुँदा त्यहाँका कैदीबन्दीसमेत राखिने गरिएको छ। साथै, विभिन्न जिल्लाबाट उपचारका लागि ल्याइने कैदीबन्दी पनि यही कारागारमा राखिँदा चाप थप बढ्ने गरेको छ।

यसैबीच, गत भदौ २५ गते चितवन कारागारबाट ७३९ जना कैदीबन्दी फरार भएको घटनापछि हालसम्म पनि ११४ जना कैदीबन्दी सम्पर्कबाहिर रहेका छन्। फरारमध्ये ११ जना भारतीय नागरिक रहेको कारागार प्रशासनले जनाएको छ।

कारागार प्रशासनले बाँकी फरार कैदीबन्दीको खोजी तीव्र पारिएको र सुरक्षासहित व्यवस्थापन सुधारका लागि आवश्यक कदम चालिँदै गएको जनाएको छ।

प्रकाशित मिति: २०८२ माघ ८, बिहीबार १७:१२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको