इलाममा बालेनको घरदैलो



विराटनगर , माघ ८ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता बालेन्द्र शाह ‘बालेन’ चुनावी प्रचार अभियान अन्तर्गत इलाम पुगेका छन्। उनले इलामका विभिन्न स्थानमा घरदैलो कार्यक्रम सञ्चालन गर्दै पार्टीका कार्यकर्ता, समर्थक तथा स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट गरेका छन्।

इलाममा आयोजित घरदैलो कार्यक्रममा बालेनसँगै इलाम प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–१ का रास्वपा उम्मेदवार विमल गदाल र क्षेत्र नम्बर–२ का उम्मेदवार गोकुलबहादुर राई पनि सहभागी थिए। उनीहरूले घरघरमा पुगेर मतदातासँग संवाद गर्दै रास्वपाको राजनीतिक दृष्टिकोण, सुशासन, पारदर्शिता र वैकल्पिक राजनीतिबारे जानकारी गराएका थिए।

घरदैलोका क्रममा बालेनले देशमा व्याप्त राजनीतिक निराशा र पुरानो शैलीको राजनीतिप्रति जनताको असन्तुष्टि उल्लेख गर्दै परिवर्तनका लागि नयाँ सोच र जिम्मेवार नेतृत्व आवश्यक रहेको बताएका थिए। स्थानीय बासिन्दाले पनि आफ्ना समस्या, अपेक्षा र सुझावहरू खुलेर राखेका थिए।

यसैक्रममा झापा–५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका बालेन्द्र शाहले बिहीबार बिहान इलाममा रास्वपाका उम्मेदवारका पक्षमा मत माग्दै प्रचारप्रसारमा सक्रिय भूमिका निर्वाह गरे। मंगलबार प्रतिनिधिसभा सदस्यका लागि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गर्ने गरी मनोनयन दर्ता गराएका शाहले त्यसअघि बुधबार दमकस्थित रास्वपाको सम्पर्क कार्यालयमा पार्टी कार्यकर्ता र समर्थकसँग भेटघाट गरेका थिए।

इलामअघि बालेनले झापा, मोरङ र सुनसरीका विभिन्न स्थानमा पुगेर रास्वपाका उम्मेदवारहरूसँग भेटघाट तथा प्रचार गतिविधि सञ्चालन गरेका थिए। रास्वपाले उनलाई झापा क्षेत्र नम्बर–५ बाट उम्मेदवार बनाएको भए पनि, उनको लोकप्रियता र प्रभावलाई ध्यानमा राख्दै अन्य निर्वाचन क्षेत्रहरूमा समेत प्रचारप्रसारमा परिचालन गर्ने रणनीति बनाएको जनाएको छ।

पूर्वी नेपालमा बालेनको सक्रियता रास्वपाका लागि चुनावी रूपमा महत्वपूर्ण मानिएको छ।

प्रकाशित मिति: २०८२ माघ ९, बिहिवार १२:१४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको