माधव नेपाल विरुद्धको उजुरीमा दरपीठ



जनकपुरधाम, माघ ८ । नेपाली कम्युनिष्ट पार्टीका सह संयोजक एवं पूर्व प्रधानमन्त्री माधव नेपालको उम्मेदवारी विरुद्ध परेको उजुरीमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले दरपीठ गरेको छ ।

मुख्यनिर्वाचन अधिकृत मनोज केसीले निर्वाचन आयोगलाई जानकारी गराउदै उम्मेदवार विरुद्ध उजुरी कर्ता रामनरेश रायले दिएको उजुरी दर्ता गर्न नमिल्ने भन्दै दरपीठ गरेको जनाएको छ ।



रौतहट जिल्लाको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर–१ मा उम्मेदवारी माधव नेपालले प्रतिनिधि सभा सदस्य पदका लागि दिएको उम्मेदवारी कानून विपरीत भएको दाबी गर्दै रायले उजुरी दिएको थियो ।

उजुरीकर्ता रायले माधव कुमार नेपाल पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी नेपालसँग सम्बन्धित जग्गा हिनामिना प्रकरणमा मुछिएको आरोप लगाएका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उक्त प्रकरणमा सरकारी सार्वजनिक सम्पत्तिमा हानी–नोक्सानी पु¥याई भ्रष्टाचार गरेको आरोपमा विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको र सो मुद्दा हाल विचाराधीन अवस्थामा रहेको अवस्थामा नेपालको उम्मेदवारी कानून विपरित रहेको उनको दावी थियो ।

उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ तथा भ्रष्टाचार निवारण ऐन, २०५९ का प्रावधानअनुसार भ्रष्टाचार मुद्दा दर्ता भई अदालतमा विचाराधीन रहेका व्यक्तिले निर्वाचनमा उम्मेदवारी दिन नपाउने कानुनी व्यवस्था रहेको दाबी गर्दै उम्मेदवारी खारेज गर्न माग गरेका थिए ।

 

प्रकाशित मिति: २०८२ माघ ८, बिहीबार ०८:१४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको