काठमाडौं, माघ ८ । निर्वाचन आयोगले आज प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवारहरूको नामावली सार्वजनिक गर्ने भएको छ। मंगलबार मनोनयन दर्ता गराएका उम्मेदवारहरूको प्रारम्भिक नामावली आज प्रकाशन गर्न लागिएको आयोगले जनाएको छ।
मंगलबार साँझसम्म मनोनयन दर्ता सम्पन्न भएपछि आयोगले बुधबार उम्मेदवारविरुद्ध उजुरी आह्वान गरेको थियो। बुधबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको योग्यतासम्बन्धी उजुरी दर्ता गरिएको थियो।
दर्ता भएका उजुरीमाथि बुधबार साँझ नै जाँचबुझ सम्पन्न भइसकेकाले आज उम्मेदवारहरूको नामावली प्रकाशन गर्न लागिएको आयोगले जनाएको छ। आयोगको कार्यतालिका अनुसार आज बेलुकी ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको नामावली सार्वजनिक गरिनेछ।
यस्तै, माघ ९ गते शुक्रबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिन सक्नेछन्। सोही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन गरिनेछ भने दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम रहेको छ।

निर्वाचन आयोगका अनुसार हालसम्म ३ हजार ४८६ जनाको उम्मेदवारी दर्ता भएको छ। जसमा पुरुष ३ हजार ८९, महिला ३९६ र तेस्रो लिङ्गी १ जना रहेका छन्।
जेन–जी आन्दोलनको प्रभावपछि संसद विघटन भई कार्यकाल पूरा हुनुअघि नै प्रतिनिधि सभा निर्वाचन हुन लागेको हो। सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले आगामी फागुन २१ गते निर्वाचन मिति तय गरेको छ।
यस निर्वाचनमा ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १३१ महिला तथा अन्य २०० जना गरी कुल १ करोड ८९ लाख ३ हजार ६८९ मतदाता सहभागी हुने निर्वाचन आयोगले जनाएको छ।







