महोत्तरी ,माघ ८ । महोत्तरीका केही पुराना नेताले आगामी प्रतिनिधि सभा निर्वाचनमा तेस्रोपल्ट (ह्याट्रिक) गर्ने दाउमा मनोनयन दर्ता गराएका छन्। यहाँका चारवटा निर्वाचन क्षेत्रमा हालसम्म १४३ जना उम्मेदवारले मनोनयन दर्ता गरिसकेका छन्, जसमा २० जना महिला र १२३ जना पुरुष रहेका छन्।
मनोनयन दर्ता गर्नेमा विगतदेखि विजयी भएका पुराना नेता मात्र होइन, नयाँ अनुहार पनि छन्। कतिपय उम्मेदवार लगातार तेस्रोपल्ट चुनावी मैदानमा आएका छन्। जलेश्वर नगरपालिका–४ का पूर्व जिल्ला शिक्षा अधिकारी कृष्णचन्द्र झाले भने, “उम्मेदवारीको तेस्रो पटक जनताको भरोसा र अपेक्षाको कडा परीक्षा हो। पुराना नेताले यसमा कडाईसाथ प्रतिस्पर्धा गर्नु पर्छ।”
क्षेत्र नं. १ मा नेकपा (एमाले) का लक्ष्मी महतो र नेकपा का गिरिराजमणी पोखरेल दुवैले तेस्रोपल्ट उम्मेदवारी दिएका छन्। पोखरेलले २०६४, २०७० को संविधान सभा निर्वाचन र २०७४ को प्रतिनिधि सभा निर्वाचनमा लगातार जित हासिल गरेका थिए। लक्ष्मी महतोले २०७९ मा पोखरेलसँग पराजयपछि फेरि उम्मेदवारी दर्ता गरेका हुन्।
क्षेत्र नं. २ मा शरतसिंह भण्डारी लगातार विजयी हुँदै आएका छन्। नेपाली कांग्रेसकी किरण यादवसँग प्रत्यक्ष प्रतिस्पर्धा भइरहेको छ। क्षेत्र नं. ३ मा महन्थ ठाकुरले छोरी मिनाक्षी ठाकुरलाई जसपाबाट अगाडि सारेका छन् भने केही उम्मेदवार तेस्रोपल्ट स्वतन्त्र वा कांग्रेसबाट मैदानमा आएका छन्।
क्षेत्र नं. ४ मा नेपाली कांग्रेसका महेन्द्रकुमार राय र जसपाका डा.सुरेन्द्रकुमार यादव तेस्रोपल्ट चुनावी प्रतिस्पर्धामा छन्। २०७४ र २०७९ मा दुवै जना पराजय–विजय साटासाट गरिसकेका छन्।
जेनजी आन्दोलनपछि राजनीतिक परिदृश्यमा अवसरसँगै चुनौती पनि थपिएको पिपरा–४ का दिनेश चौधरीले उल्लेख गर्नुभयो। यस चुनावमा पुराना नेताको अनुभव, विकास कार्य र जनताको भरोसाले निर्णायक भूमिका खेल्ने अपेक्षा गरिएको छ।




