बरहथवा ,माघ ८ । सर्लाहीको लालबन्दीमा सञ्चालन हुँदै आएको सामुदायिक परोपकार आँखा उपचार केन्द्रलाई लायन्स क्लब इन्टरनेसनलले दुई करोड रुपैयाँभन्दा बढी मूल्यका अत्याधुनिक स्वास्थ्य उपकरण हस्तान्तरण गरेको छ।
बुधबार आयोजित एक औपचारिक कार्यक्रममा मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले केन्द्रलाई २ करोड २० लाख २१ हजार ८६० रुपैयाँ बराबरका आधुनिक उपकरण हस्तान्तरण गर्नुभएको हो। उपकरण हस्तान्तरणसँगै केन्द्रको सेवा क्षमता उल्लेखनीय रूपमा विस्तार हुने अपेक्षा गरिएको छ।
लालबन्दी नगरपालिका–५, जरुवापानीमा सञ्चालन भइरहेको आँखा उपचार केन्द्रको स्तरोन्नतिका लागि उपकरण प्रदान गरिएको लायन्स क्लब इन्टरनेसनलका डाइरेक्टर बालकृष्ण बुर्लाकोटीले जानकारी दिनुभयो। उहाँका अनुसार केन्द्रलाई आँखाको शल्यक्रिया गर्न प्रयोग हुने फेको सर्जरी मेसिन, माइक्रोस्कोप, स्लिट ल्याम्पलगायत अत्याधुनिक उपकरण उपलब्ध गराइएको छ। उपकरण जडानपछि अब लालबन्दीमै काठमाडौँको तिलगङ्गा आँखा उपचार केन्द्र सरहको सेवा उपलब्ध हुने उहाँको भनाइ छ।
नेपाल रेडक्रस सोसाइटी उपशाखा लालबन्दीको सुविधासम्पन्न भवनमा उपकरण जडान गरी सेवा सञ्चालनको तयारी गरिएको छ। कार्यक्रममा मुख्यमन्त्री यादवले स्तरोन्नति गरिएको आँखा उपचार केन्द्रको औपचारिक उद्घाटनसमेत गर्नुभयो।
त्यस अवसरमा लालबन्दी रेडक्रसका सभापति ध्रुवप्रसाद घिमिरेले फेको मेसिनमार्फत आँखाको शल्यक्रियासहित उपचार सुरु गर्न दक्ष चिकित्सक र प्राविधिकको व्यवस्थापन आवश्यक रहेको भन्दै प्रदेश सरकारसँग सहयोगको अपेक्षा व्यक्त गर्नुभयो।
मुख्यमन्त्री यादवले प्रदेशको स्वास्थ्य क्षेत्रमा देखिएको विकृति र लापरबाही नियन्त्रण गर्न कडा कदम चाल्न स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री जङ्गीलाल रायलाई निर्देशन दिनुभयो। साथै उहाँले स्वास्थ्य सेवा नागरिकको मौलिक अधिकार भएको उल्लेख गर्दै निजी तथा सामुदायिक प्रयासलाई सरकारले साथ दिने प्रतिबद्धता जनाउनुभयो।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री रायले आवश्यक दक्ष प्राविधिक प्रदेश सरकारका तर्फबाट उपलब्ध गराउने तथा लालबन्दीमा ट्रमा सेन्टर स्थापनाका लागि बजेट विनियोजन गरिने जानकारी दिनुभयो।
केन्द्रले सर्लाही, महोत्तरी, रौतहट, सिन्धुली र भारतको बिहार क्षेत्रका करिब १० लाख आँखाका बिरामीलाई सेवा दिने लक्ष्य राखेको लायन्स क्लब लालबन्दीका पूर्वअध्यक्ष राजकुमार न्यौपानेले जानकारी दिनुभयो।






