माघ शुक्ल पञ्चमी , देशभर श्रीपञ्चमी सरस्वती पूजा मनाइँदै



जनकपुरधाम, माघ ९ । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी अर्थात् वसन्तपञ्चमी पर्व आज देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ । विद्याकी अधिष्ठात्री देवी सरस्वतीको विधिपूर्वक पूजा–आराधना गरी यस पर्व मनाउने परम्परा रहेको छ ।

वसन्तपञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या, बुद्धि र सिर्जनशीलता वृद्धि हुने धार्मिक विश्वास छ । यस अवसरमा देशभरका सरस्वती मन्दिरहरूमा बिहानैदेखि श्रद्धालुहरूको भीड लागेको छ । विद्यालयहरुमा सरस्वतिको प्रतिमा राखि पूजा अर्चना भइ रहेको छ । विद्यालय नपठाइएका साना बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने चलन रहेको छ भने आज लेखपढ गर्न सुरु गरे राम्रो विद्या प्राप्त हुने विश्वास गरिन्छ ।



चन्द्रमाजस्तो गोरो वर्ण, हातमा वीणा र पुस्तक धारण गरेकी देवी सरस्वतीलाई भक्तजनहरूले भारती, शारदा, हंसवाहिनी, वागीश्वरी, वरदायिनी, बुद्धिदात्रीलगायत विभिन्न नामले पुकार्ने गर्दछन् । विद्या र सिर्जनाकी देवी भएकाले साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थीहरूले आफ्ना कलम, कापी, कुची तथा वाद्ययन्त्रलाई सरस्वतीको प्रतीक मानी पूजा आराधना गर्छन् ।

सूर्य उत्तरायणमा प्रवेश गरी दिन लामो हुने र वसन्त ऋतुको प्रारम्भ हुने विश्वासका कारण यस दिनलाई ‘वसन्तपञ्चमी’ पनि भनिन्छ । ऋग्वेदमा वाग्देवीका नामले उल्लेख भएकी ब्रह्माकी अर्धाङ्गिनी सरस्वतीको पूजा उपासनाले ज्ञान, सद्बुद्धि र सिद्धि प्राप्त हुने धार्मिक मान्यता छ । गान्धर्व पुराणमा आज सरस्वती पूजा गरी विद्यारम्भ गरे सर्वसिद्धि प्राप्त हुने उल्लेख गरिएको छ ।

परम्परागत रूपमा आज विवाह, व्रतबन्ध, बेलविवाह (इही) तथा अन्य शुभकार्यका लागि साइत हेर्नु नपर्ने विश्वास रहे पनि यस वर्ष शुक्र अस्त भएकाले ती कार्य नगर्ने जनाइएको छ । यस दिन बालबालिकाको शिक्षा आरम्भसँगै नाक–कान छेड्ने परम्परा पनि रहेको छ ।
जनकपुरधाम स्थित विद्यालय तथा कलेज एवं चोकहरुमा विद्यार्थीहरुले भव्यताका साथ सरस्वति पूजाको आयोजना गरेको छ ।

वसन्त श्रवण

यस अवसरमा हनुमानढोका दरबारस्थित नासल चोकमा राष्ट्राध्यक्षबाट ‘वसन्त श्रवण’ गर्ने परम्परा अनुसार आज राष्ट्रपति रामचन्द्र पौडेलले वसन्त श्रवण गर्नुहुने छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार बिहान १०ः२७ बजे शुभसाइत तय गरिएको छ ।

वसन्त श्रवण कार्यक्रममा उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरू, राष्ट्रियसभा अध्यक्ष तथा सदस्य, संवैधानिक निकायका प्रमुख तथा सदस्य, प्रदेशसभा सदस्यलगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहने हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ । कार्यक्रमका लागि सबै तयारी पूरा भएको जनाइएको छ ।

प्रकाशित मिति: २०८२ माघ ९, शुक्रबार ०७:५९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको