सप्तरी, माघ १० । जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले आफु चुनाव जित्नैका लागी क्षेत्र बदल्ने भन्दा पनि आफ्नो क्षेत्रका जनता कै साथमा रहने सोचका साथ साविक कै क्षेत्रबाट उम्मेदवार बनेको प्रष्ट पारेका छन । प्रतिनिधीसभा निर्वाचनमा पुनः सप्तरीको क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका डा.राउतले शनीवार राजविराजमा पत्रकार सम्मेलनको आयोजना गर्दै यस्तो बताएका हुन ।
“मेरो घर यसै क्षेत्रमा पर्दछ, अघिल्लो निर्वाचनमा पनि यहीका जनताले मलाई भारी मतका साथ जिताएकै हुन, उनले भने–यस पल्ट पनि जनताले माया गर्नेमा विश्वस्त छुँ ।”
मधेश मुद्दामा एउटै लक्ष्यका साथ अघि बढेको भएपनि अन्य कतिपय दलले चुनावी तालमेल गरेको भन्दै उनले आफुहरु मधेशका मुद्दामा इमान्दार रहेका कारण एक्लै चुनावमा उत्रेको स्पस्ट पारे ।
चुनावी तालमेलमा विभिन्न विचार लिएकाहरुको घुसपैठ पनि हुन सक्ने आशंका ब्यक्त गर्दै उनले त्यही कारणले पनि एक्लै निर्वाचनमा होमिएको जनाए । आफुले विगतका निर्वाचनमा उठदा रोजगारीको ब्यवस्था मिलाउने भनी गरेको प्रतिबद्धताहरु थालनी भइसकेको जिकिरका साथ उनले भविष्यमा पनि जनताका लागी रोजगारी दिलाउने सवालमा इमान्दारीताका साथ लाग्ने प्रतिबद्धता ब्यक्त गरे ।
एजेण्डा विहीन केही दलद्वारा संविधानमाथी निरन्तर आक्रमण भइरहेको भन्दै उनले देश अहिले संकटमा परेको तथा देश नै नरहने होकी ? भन्ने अवस्थामा आएको बताए । ६१ प्रतिनिधिसभा क्षेत्रमा उम्मेदवारी दिएको जनमतले यस पल्ट प्रत्यक्ष तर्फ २० देखी २५ सिट सम्म जित्ने अनुमान गरिएको उनको भनाई छ ।
उनले पछिल्लो पटकको निर्वाचनको तुलनामा यस पल्ट संगठन विस्तार तथा विभिन्न निर्वाचन क्षेत्रमा सशक्त उम्मेदवारको उपस्थितीका कारण यसपल्ट उल्लेख्य संख्यामा सिट बढ्ने विश्वास व्यक्त गरे । देशमा स्थिर सरकारका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति, संवैधानिक निकायका प्रमुखहरु निर्वाचित भएर आउनुपर्ने, निर्वाचित सांसदबाट मन्त्री नबनाई मन्त्रालयहरुमा विज्ञहरु राखेर चलाउनुपर्ने लगायतका अवधारण आफ्नो पार्टीको रहेको समेत उनले स्पष्ट पारेका छन ।
पत्रकार सम्मेलनमा उनले आफ्नो छोटो समयको अवधीमा जिल्ला र प्रदेशका हकमा भएका गतिविधी र प्रयासको फेहरिस्त पनि सार्वजनिक गरेका थिए ।
पत्रकार सम्मेलनमा जनमत पार्टी मधेश प्रदेशका संसदिय दलका नेता एवं अर्थमन्त्री महेश प्रसाद यादव, प्रेस जनमत संघका अध्यक्ष अवधेश झा लगायतको उपस्थिती रहेको थियो ।




