काठमाडौं , माघ १० । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूह राष्ट्रिय भेलाको तयारीमा लागेको छ। विशेष महाधिवेशनपछि किनारा लागेको उक्त समूह आगामी रणनीति तय गर्न र पार्टीभित्रको आन्तरिक अवस्था समीक्षा गर्न राष्ट्रिय भेलाको तयारीमा रहेको हो।
राष्ट्रिय भेलाको तयारीका लागि निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का समूहका नेताहरूसँग परामर्शमा छन्। शनिबार मात्रै खड्कासँग भेट गरेका एक केन्द्रीय सदस्यले भेलाको तयारी भइरहेको जानकारी दिए। उनीका अनुसार, पुसमा सम्पन्न विशेष महाधिवेशनपछि पार्टीको आन्तरिक राजनीति र त्यसअघिको परिस्थितिबारे समूहका नेताहरूलाई जानकारी दिन र रणनीति तय गर्न बैठक आवश्यक देखिएको हो।
‘राष्ट्रिय सभा निर्वाचनपछि भेला गर्ने योजना छ,’ ती नेताले अनलाइनखबरसँग भने। तर, राष्ट्रिय भेलाको मिति अझै निश्चित भएको छैन। ‘समय फिक्स भइसकेको अवस्था होइन, कार्यवाहक सभापति परामर्शमै हुनुहुन्छ,’ उनले थपे।
विशेष महाधिवेशनबाट चयन भएको केन्द्रीय कार्यसमितिलाई देउवा समूहले अझै स्वीकार नगरेको छ। निर्वाचन आयोगले कार्यसमितिको आधिकारिकता दिएपछि समूहले सर्वोच्च अदालतमा अन्तरिम आदेशको माग गरेको थियो। तर न्यायाधीश सुनिल पोखरेलको इजलासले अन्तरिम आदेश नदिँदै आयोगलाई १५ दिनभित्र लिखित जवाफ पेश गर्न निर्देशन दिएको थियो।
यसअघि कार्यवाहक सभापतिका नेतृत्वमा बसेको केन्द्रीय कार्यसमितिले तत्कालीन महामन्त्री गगनकुमार थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई पाँच वर्षका लागि साधारण सदस्य नरहने गरी पार्टीबाट निस्कासन गरेको थियो।
अब देउवा समूहले राष्ट्रिय सभा निर्वाचनपछि भेला गर्दै आगामी रणनीति र नयाँ राजनीतिक कदम सार्वजनिक गर्ने तयारीमा रहेको विश्लेषकहरूले बताएका छन्।




