गजेन्द्रबाबुपछिको मधेस राजनीति : योगदान र वर्तमान चुनौती



काठमाडौं ,माघ १०। नेपाल सद्भावना पार्टीका संस्थापक अध्यक्ष गजेन्द्र नारायण सिंह को निधन भएको २४ वर्ष पूरा भएको छ। उनी मधेसवादी नेता भए पनि देश र लोकतन्त्र उनको लागि सर्वोपरि थिए। इमानदारी, नैतिकता, सदाचार र जातिवाद–परिवारवादको विरोध उनको राजनीतिक दर्शनको आधार थिए।

उनको राजनीतिक यात्रा नेपाली कांग्रेसमा सप्तरी जिल्ला अध्यक्षबाट सुरु भयो। राणाविरोधी आन्दोलनमा सक्रिय सहभागी बनेका उनले पटक–पटक जेल भोगेका थिए। जेलमा रहेकै बेला उनका आमाको निधन भयो, र प्रहरीले हत्कडी लगाएर उनलाई दाहसंस्कारमा भाग लिन बाध्य बनायो। २०४७ सालमा जनआन्दोलन सफल भएपछि उनले नेपाल सद्भावना पार्टी स्थापना गरे। पार्टी मार्फत उनले मधेसी, दलित, महिला, जनजाति र खसआर्यका लागि समानुपातिक समावेशिता, नागरिकता सुधार, मातृभाषामा शिक्षा र संघीय लोकतान्त्रिक संरचनाको माग अघि सारे।

गजेन्द्र नारायणको शान्तिपूर्ण र अहिंसक आन्दोलनले मधेसमा कुनै सशस्त्र समूह वा विभाजनकारी गतिविधि देखाएन। उनी अनशन, शान्तिपूर्ण विरोध र सामाजिक न्यायका माध्यमबाट समस्याको समाधान खोज्थे। उनले मधेसी भूमिहीनको अधिकार, हिन्दी भाषाको मान्यता र समावेशी शासनका लागि महत्वपूर्ण पहल गरेका थिए।

तर, उनको निधनपश्चात् मधेस राजनीति धेरै हदसम्म परिवारवाद र जातिवादको प्रभावमा आएको छ। नेपाल सद्भावना पार्टी समाप्त भएको छ भने उनका विचार र सिद्धान्त अहिले कमै नेताद्वारा जिवित छन्। वर्तमान अवस्थामा उनको नाममा खुलिएका प्रतिष्ठान वा ट्रस्टले मात्र कमाई गर्ने काम भइरहेको छ।

गजेन्द्र नारायण सिंहको योगदान मधेसका लागि मात्र होइन, समग्र देशका लागि अविस्मरणीय छ। उनका सिद्धान्त, शान्तिपूर्ण राजनीति र सामाजिक न्यायप्रति प्रतिबद्धता इतिहासले सदैव स्मरण गर्नेछ।

प्रकाशित मिति: २०८२ माघ ११, शनिवार १६:०८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको