चुनावी प्रचारमा बालबालिका प्रयोगविरुद्ध जेनजी फ्रन्ट को ध्यानाकर्षण



काठमाडौं , माघ १० । जेनजी फ्रन्ट ले आगामी फागुन २१ मा हुने निर्वाचनका लागि प्रचार प्रसारमा बालबालिकाको प्रयोग भइरहेको विषयप्रति आपत्ति जनाएको छ। शनिबार जारी विज्ञप्ति मार्फत फ्रन्टले यस विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको स्पष्ट पारेको छ।

फ्रन्टले भनेका छन् कि राजनीतिक लाभका लागि बालबालिकालाई अगाडि सार्नु बालअधिकारको उल्लङ्घन मात्र नभई लोकतान्त्रिक मूल्य र नैतिकताको ठाडो अपमान पनि हो। बालबालिकालाई राजनीतिक दल, उम्मेदवार वा कार्यकर्ताका प्रचारका औजार बनाउनु अनुचित र गैरजिम्मेवार व्यवहार हो।

नेपालको विद्यमान कानुन, बालबालिका सम्बन्धी ऐन, र निर्वाचन आयोगद्वारा जारी निर्वाचन आचारसंहिताले स्पष्ट रूपमा बालबालिकाको राजनीतिक गतिविधि, चुनावी प्रचार(प्रसार र सार्वजनिक प्रचार सामग्रीमा नाम, अनुहार वा सहभागिता प्रयोग गर्न निषेध गरेको छ। जेनजी फ्रन्टले सबै राजनीतिक दल, उम्मेदवार र कार्यकर्तालाई यस नियमको पालना गर्न आग्रह गरेको छ।

फ्रन्टले विज्ञप्तिमा सबैलाई सचेत हुन आग्रह गर्दै भनेको छ कि चुनावी गतिविधिमा बालबालिकाको प्रयोग नगर्नु मात्र कानुनी जिम्मेवारी होइन, भविष्यप्रति जिम्मेवारीपूर्ण कदम पनि हो। राजनीतिक दलहरूले बालबालिकाको सुरक्षालाई प्राथमिकता दिनु पर्ने र उनीहरूको अधिकार तथा स्वतन्त्रता सुनिश्चित गर्नु पर्नेमा जोर दिइएको छ।

जेनजी फ्रन्टले आगामी निर्वाचन प्रक्रियामा बालबालिकाको प्रयोग नगर्न, आचारसंहिताको पालना गर्न, र उच्चतम जिम्मेवारी तथा जवाफदेहिता देखाउन सम्पूर्ण राजनीतिक दल तथा उम्मेदवारलाई सचेत बनाएको छ। फ्रन्टको यो कदमले बालबालिकाका अधिकार सुरक्षित गर्ने र लोकतान्त्रिक मूल्यको सम्मान गर्ने दिशा तय गरेको देखिन्छ।

प्रकाशित मिति: २०८२ माघ ११, शनिवार १६:२२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको