काठमाडौं ,माघ १० । दाङ–१ बाट प्रतिनिधिसभा सदस्यमा बागी उम्मेदवारी दिएका कुलप्रसाद केसीलाई नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले पार्टीबाट निस्कासन गरेको छ ।
पार्टीको आधिकारिक निर्णयविपरीत स्वतन्त्र उम्मेदवारी दिएको भन्दै केसीमाथि अनुशासनात्मक कारबाही गरिएको नेकपाले जनाएको छ । पार्टीले केसीलाई उम्मेदवारी फिर्ता लिन र आधिकारिक उम्मेदवारलाई समर्थन गर्न निर्देशन दिएको थियो । तर उक्त निर्देशन नमानेपछि उनलाई पार्टी सदस्यताबाट निष्कासन गरिएको हो ।
केसी नेकपाबाट प्रतिनिधिसभा निर्वाचनका लागि टिकटको आकांक्षी थिए । पार्टीले दाङ–१ मा मेटमणि चौधरीलाई आधिकारिक उम्मेदवार बनाएपछि असन्तुष्ट बनेका केसीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए ।
नेकपाले पार्टी निर्णय र निर्देशनविपरीत उम्मेदवार बन्ने, त्यस्ता उम्मेदवारका प्रस्तावक, समर्थक तथा प्रचार–प्रसारमा संलग्न रहने व्यक्तिहरूमाथि पनि कडा अनुशासनात्मक कारबाही गरिने स्पष्ट पारेको छ ।
पार्टीको केन्द्रीय निर्णयअनुसार संगठनात्मक अनुशासन कायम गर्न यस्तो कदम चालिएको नेकपाको भनाइ छ ।




