हरिबोल र महेश्वरसहित सात नेता नेकपाबाट निष्कासित



काठमाडौं ,माघ १० । नेपाल कम्युनिस्ट पार्टी(नेकपा) ले बागी उम्मेदवारी दर्ता गरेका हरिबोल गजुरेलसहित सात जना नेता माथि अनुशासनात्मक कारबाही गर्दै पार्टीबाट निष्कासन गरेको छ ।

पार्टीले शनिबार जारी गरेको विज्ञप्तिमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा पार्टी निर्णय र निर्देशनविपरीत उम्मेदवार बनेको तथा त्यस्ता उम्मेदवारका प्रस्तावक, समर्थक र प्रचारकको भूमिकामा रहेका व्यक्तिहरूलाई पार्टी विधानको दफा १०६ अनुसार कारबाही गरिएको जनाएको छ ।

निष्कासित हुने नेताहरूमा हरिबोल गजुरेल, महेश्वर दाहाल, कुलप्रसाद केसी, मेजर राई, धर्मनाथ साह, राजकुमारी साह र जिवछ साह रहेका छन् ।

महेश्वर दाहालले सिन्धुली–२ बाट नेकपाका आधिकारिक उम्मेदवार लेखनाथ दाहाल (राजन) विरुद्ध बागी उम्मेदवारी दर्ता गरेका थिए । हरिबोल गजुरेल भने दाहालको समर्थनमा सक्रिय थिए । पार्टी एकताका लागि संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उनीहरूलाई सहमतिमा आउन आग्रह गरे पनि त्यसलाई अस्वीकार गरेपछि कारबाही गरिएको नेकपाको भनाइ छ ।

त्यस्तै दाङ–१ बाट कुलप्रसाद केसीले नेकपाका आधिकारिक उम्मेदवार मेटमणि चौधरीविरुद्ध बागी उम्मेदवारी दिएका थिए । पार्टीको निर्देशन नमान्दै स्वतन्त्र रूपमा चुनावी प्रतिस्पर्धामा उत्रिएपछि उनीमाथि पनि निष्कासनको कारबाही गरिएको हो ।

नेकपाले पार्टी अनुशासन र संगठनात्मक एकता कायम राख्न यस्ता कदम आवश्यक भएको उल्लेख गर्दै भविष्यमा पनि पार्टी निर्णय उल्लङ्घन गर्नेहरूमाथि कडा कारबाही गरिने स्पष्ट पारेको छ ।

प्रकाशित मिति: २०८२ माघ ११, शनिवार १२:४३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको