सर्लाही, माघ ११ । नेपाली कांग्रेसका सभापति गगन थापा प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेको सर्लाही जिल्ला निर्वाचन क्षेत्र नं. ४ सुरक्षाको दृष्टिले अति संवेदनशील सूचीमा राखिएको छ। आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै जिल्लाका अधिकांश मतदानस्थललाई संवेदनशील र अति संवेदनशील वर्गमा राखिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।
जिल्ला निर्वाचन कार्यालय सर्लाहीका अनुसार क्षेत्र नं. ४ मा रहेका ८१ वटै मतदानस्थललाई अति संवेदनशील सूचीमा राखिएको छ। तीमध्ये केही मतदानस्थलको शनिबार जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूले स्थलगत निरीक्षण गरेका छन्।
निरीक्षण टोलीमा सर्लाहीका प्रमुख जिल्ला अधिकारी रामुराज कडरिया, सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरे, नेपाली सेनाका प्रमुख सेनानी उमेश खड्का, प्रहरी उपरीक्षक (एसपी) योगेन्द्रकुमार खड्का, सशस्त्र प्रहरी उपरीक्षक देवबहादुर चन्द तथा जिल्ला निर्वाचन अधिकारी ऋषिराम पौडेल सहभागी हुनुहुन्थ्यो।
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा यही क्षेत्रबाट कांग्रेसका पूर्व नेता अमरेश सिंह स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचित भएका थिए। कांग्रेसबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका सिंह यसपटक भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उम्मेदवार बनेका छन्।
सर्लाही जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा जम्मा ३ सय १२ मतदानस्थल अन्तर्गत ६ सय २८ मतदान केन्द्र तोकिएका छन्। तीमध्ये १ सय ५८ मतदानस्थल अति संवेदनशील र १ सय ३१ मतदानस्थल संवेदनशील सूचीमा रहेका छन्। जिल्लाभरि मात्र २३ मतदानस्थल सामान्य सूचीमा रहेको जिल्ला सुरक्षा समितिले जनाएको छ।
जिल्ला सुरक्षा समितिका अनुसार भौगोलिक विकटता, नेपाल–भारत सीमा नजिकको अवस्था, विगतका निर्वाचनमा भएका दलगत झडप तथा अपराधिक गतिविधिलाई आधार मानी मतदानस्थलहरूको वर्गीकरण गरिएको हो। अति संवेदनशील तथा संवेदनशील मतदानस्थलमा कडा सुरक्षा व्यवस्था अपनाएर भयरहित वातावरणमा निर्वाचन गराउने योजना बनाइएको प्रमुख जिल्ला अधिकारी कडरियाले जानकारी दिनुभयो।
मतदाता विवरणअनुसार सर्लाही ४ मा १ लाख २१ हजार १२ जना मतदाता रहेका छन्। यस्तै सर्लाही १ मा १ लाख ३० हजार ८७१, क्षेत्र नं। २ मा १ लाख २५ हजार ३११ र क्षेत्र नं। ३ मा १ लाख ३४ हजार ४१२ मतदाता छन्।
यसपटक सर्लाही जिल्लामा २ लाख ७८ हजार ८३७ पुरुष, २ लाख ३२ हजार ७५८ महिला तथा ११ जना अन्यसहित कुल ५ लाख ११ हजार ६०६ मतदाताले मतदान गर्नेछन्। साथै, यस निर्वाचनमा जिल्लामा २२ हजार ५९५ जना नयाँ मतदाता थपिएका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।






