मेक्सिकोको फुटबल मैदानमा आक्रमण, ११ जनाको मृत्यु



मेक्सिको सिटी, माघ १२ । मेक्सिकोको मध्य राज्य ग्वानाजुआतोमा आइतबार फुटबल मैदानमा भएको सशस्त्र आक्रमणमा कम्तीमा ११ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्।

स्थानीय अधिकारीका अनुसार आक्रमण सलामान्का शहरको छिमेकमा भएको थियो। मेयरको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ– “घटनामा १० जनाको मृत्यु घटना स्थलमै भएको छ भने एक जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। अहिले घाइतेको उपचार भइरहेको छ।” अधिकारीहरूले आक्रमणका जिम्मेवारको खोजी सुरु गरिसकेका छन्।

यसअघि शनिबार राति सोही शहरमा मानव अवशेषसहित चार वटा झोला फेला परेको थियो। ग्वानाजुआतो राज्य मेक्सिकोको समृद्ध औद्योगिक केन्द्र हो र लोकप्रिय पर्यटन स्थल भए पनि सामूहिक हिंसाका कारण देशकै सबैभन्दा घातक राज्यका रूपमा परिचित छ।

मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेनबामले आफ्नो प्रशासनको राष्ट्रिय सुरक्षा रणनीतिका कारण सन् २०२५ मा हत्याको दर एक दशककै न्यून स्तरमा झरेको उल्लेख गरे पनि, हाल हत्या दर अन्य मुलुकको तुलनामा अझै उच्च रहेको छ।

यो घटनाले मेक्सिकोमा सार्वजनिक स्थलमा सुरक्षा चुनौती अझ बढेको संकेत गरेको छ र स्थानीय प्रशासनले घटनास्थलको अनुसन्धान तीव्र बनाएको जनाएको छ।

प्रकाशित मिति: २०८२ माघ १३, सोमवार १३:५०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको