काठमाडौँ , माद्य १२ । काठमाडौँ महानगरपालिकाका पूर्वमेयर तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता भएको छ। निर्वाचन आचारसंहिता, प्रचलित कानुन र लोकतान्त्रिक निर्वाचन प्रक्रियाविपरीत घृणात्मक, भ्रामक तथा मानहानिकारक अभिव्यक्ति दिएको आरोप लगाउँदै उजुरी परेको हो।
निवेदक धर्मराज तिमिल्सिनाले निर्वाचन आयोगमा दर्ता गराएको उजुरीमा बालेन शाहले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको टिप्पणी लोकतान्त्रिक बहसको मर्मविपरीत रहेको उल्लेख गरिएको छ। उजुरी अनुसार नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्ताव गरेको पारदर्शी, बौद्धिक र तथ्यमा आधारित पब्लिक डिबेटको सन्दर्भमा बालेनले प्रयोग गरेका शब्दहरू आपत्तिजनक र गैरजिम्मेवार छन्।
निवेदनमा बालेन शाहले प्रयोग गरेका ‘७६ जना बच्चाको हत्यारा’, ‘आतंकवादी’ र ‘देश जलाउने’ जस्ता शब्दहरू कुनै प्रमाण वा अदालतको फैसला बिना लगाइएका गम्भीर, तथ्यहीन र आपराधिक आरोप भएको दाबी गरिएको छ। यस्ता अभिव्यक्तिले सम्बन्धित व्यक्तिको सामाजिक प्रतिष्ठामा गम्भीर क्षति पुर्याउने, वैधानिक राजनीतिक दलप्रति जनघृणा फैलाउने र मतदाताको मानसिकता भ्रमित पार्ने जोखिम रहेको उल्लेख गरिएको छ।
निवेदनमा भनिएको छ, “यस किसिमका गैरजिम्मेवार अभिव्यक्तिले निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयमुक्त रूपमा सम्पन्न गर्ने संवैधानिक उद्देश्य कमजोर बनाउनुका साथै लोकतान्त्रिक बहसलाई नीति र विचारको तहबाट आरोप–प्रत्यारोप र अफवाहको तहमा झार्ने काम गर्दछ।”
नेपालको संविधान, निर्वाचन आचारसंहिता तथा प्रचलित कानुनले निर्वाचन अवधिमा भ्रामक सूचना, घृणात्मक अभिव्यक्ति र अपुष्ट आरोप प्रयोग गरी मतदातालाई प्रभावित पार्न निषेध गरेको स्मरण गराउँदै उजुरीमा उक्त विषयको तथ्यपरक छानबिन गरी आचारसंहिता विपरीत ठहर भए आवश्यक कारबाही गर्न माग गरिएको छ।
यसैगरी, महोत्तरीलगायतका क्षेत्रमा रास्वपाले चुनावी प्रचारमा भारतीय नम्बर प्लेटका सवारी साधन प्रयोग गरेको देखिने भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएको भन्दै सो कार्य पनि निर्वाचन आचारसंहिता विपरीत भएको दाबी गरिएको छ। उक्त घटनाको सत्यतथ्य छानबिन गरी आवश्यक कारबाही गर्न निर्वाचन आयोगसँग निवेदकले माग गरेका छन्।




