कोरला नाका खुल्दा मुस्ताङ मा आर्थिक कारोबार बढ्यो



मुस्ताङ , माद्य  १२ । चीनको तिब्बत स्वायत्त प्रदेश, लिजी उपल्लो मुस्ताङ को लोमान्थाङ गाउँपालिकामा पर्ने कोरला नाका व्यावसायिक रूपमा सञ्चालनमा आउँदा मुस्ताङको आर्थिक गतिविधि बढेको छ।

सन् १९६० को दशकमा तिब्बतमा विद्रोहका कारण नेपाल–चीन सीमामा कडाइ भएपछि कोरला नाका लामो समय बन्द थियो। २०८० कात्तिक २७ गते औपचारिक उद्घाटन भएपछि चालु आर्थिक वर्ष २०८२–८३ को भदौ ३० गतेदेखि नाका व्यावसायिक रूपमा सञ्चालनमा आएको छ। माघ ९ गतेसम्म मात्र ५ अर्ब ५४ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ।

हालसम्म २ हजार ३ सय २९ विद्युतीय गाडी र मालवाहक कन्टेनरमार्फत सामान आवतजावत भएको छ। नेपालबाट हस्तकला, कपडा, जडिबुटी, पस्मिना लगायतका उत्पादन निर्यात भइरहेको छ। त्यस्तै, नाकामा ५५ भन्दा बढी पसल सञ्चालन भइरहेका छन् र करिब १ सय १४ जना स्थानीय व्यापारीले व्यापारमा संलग्न छन्।

लोमान्थाङ गाउँपालिका अध्यक्ष टसीनर्बु गुरुङका अनुसार, नाकाको सञ्चालनले स्थानीय रोजगारी र व्यवसायमा ठूलो योगदान पुर्‍याइरहेको छ। नेपाली पर्यटक समेत नाकामा आकर्षित भैरहेका छन्। मुस्ताङ उद्योग वाणिज्य संघका अध्यक्ष राजु लालचनले कोरला नाकाले नेपाल–चीन–भारत त्रिदेशीय व्यापारमा महत्वपूर्ण भूमिका खेल्ने र आर्थिक हब बन्ने सम्भावना रहेको बताए।

कोरला नाका समुद्र सतहदेखि ४,६५० मिटर उचाइमा अवस्थित छ र धार्मिक तथा पर्यटकीय दृष्टिले पनि महत्वपूर्ण छ। यहाँबाट हिन्दू, बौद्ध र जैन धर्मावलम्बी कैलाश–मानसरोवरको दर्शनका लागि सहज र कम खर्चिलो मार्ग प्रयोग गर्न सक्छन्।

तर पूर्वाधारको कमी अझै चुनौती बनेको छ। नेचुङ भन्सार कार्यालयमा पाँच जना कर्मचारीका लागि मात्रै कोठा छ भने न्यूनतम १० करोडको बजेट आवश्यक भए पनि हालसम्म ५० लाख मात्र बिनियोजन भएको छ। जाडोमा होटल बन्द हुँदा कर्मचारीले कार्यालयमा रात बिताउनुपर्ने बाध्यता छ।

नेपाल–चीन–भारत व्यापार र पर्यटन प्रवर्द्धनमा कोरला नाकाले नयाँ अवसर सिर्जना गरेको छ। यसै वर्ष मुस्ताङमा पहिलोपटक ७४ औं अन्तर्राष्ट्रिय भन्सार दिवस पनि मनाइँदैछ।

प्रकाशित मिति: २०८२ माघ १३, सोमवार १३:०९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको