रुपन्देही मा पाँच पूर्वमन्त्री चुनावी प्रतिस्पर्धामा



बुटवल , माद्य १२ । प्रतिनिधिसभाको आसन्न निर्वाचनमा रुपन्देही जिल्ला राजनीतिक रूपमा निकै रोचक बनेको छ। पाँचवटा निर्वाचन क्षेत्र रहेको यस जिल्लामा तीन निर्वाचन क्षेत्रबाट पाँच जना पूर्वमन्त्री चुनावी मैदानमा उत्रिएका छन्। पूर्वमन्त्रीहरूको बाक्लो उपस्थितिले रुपन्देहीको चुनावलाई उच्च प्रोफाइलको प्रतिस्पर्धाका रूपमा हेरिएको छ।

रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वमन्त्री विष्णुप्रसाद पौडेल उम्मेदवार छन्। पौडेलले २०६४ सालदेखि निरन्तर जित्दै आएको यो क्षेत्रलाई आफ्नो बलियो आधार मानिन्छ। उनलाई नेपाली कांग्रेसका चुन्नु प्रसाद पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सुलभ खरेल र नेकपाका विश्वदीप(शुभास) पाण्डेयले चुनौती दिएका छन्। यस क्षेत्रमा सत्ता र विपक्षी दलबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ।

यस्तै, रुपन्देही निर्वाचन क्षेत्र नम्बर ४ मा पूर्वमन्त्री सर्वेन्द्रनाथ शुक्ला उम्मेदवार बनेका छन्। शुक्लाले नेपाली कांग्रेसका आशुतोष मिश्र, जनमत पार्टीका भूपेन्द्र यादव र रास्वपाका कन्हैया बानियाँसँग प्रतिस्पर्धा गर्दैछन्। उनी २०७९ सालको निर्वाचनमा साविकको लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) बाट निर्वाचित भएका थिए।

रुपन्देही निर्वाचन क्षेत्र नम्बर ५ मा भने तीन जना पूर्वमन्त्री एउटै मैदानमा छन्। नेपाली कांग्रेसबाट पूर्वराज्यमन्त्री भरत कुमार शाह, जनमत पार्टीबाट पूर्वराज्यमन्त्री ओम प्रकाश यादव र नेकपाबाट पूर्वमन्त्री मोहम्मद वकिल मुसलमान उम्मेदवार बनेका छन्। यो क्षेत्रबाट २०७९ सालको निर्वाचनमा नेकपा एमालेका बासुदेव घिमिरे निर्वाचित भएका थिए।

पूर्वमन्त्रीहरूको उपस्थिति, नयाँ दलहरूको प्रतिस्पर्धा र पुराना राजनीतिक शक्तिबीचको टकरावका कारण रुपन्देहीको चुनावलाई यसपटक चासोका साथ हेरिएको छ। मतदाताको निर्णयले आगामी राजनीतिक समीकरणमा महत्वपूर्ण प्रभाव पार्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: २०८२ माघ १३, सोमवार १२:२३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको