नेपालगञ्ज , माद्य १२ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) का समर्थक हरू सवार एक गाडीबाट खस्दा बाँकेको नेपालगञ्जमा पाँच जना घाइते भएका छन्। घटना नेपालगञ्जस्थित राँझा विमानस्थल नजिकैको सडकखण्डमा भएको हो।
बालेन शाह नेपालगञ्ज आउने कार्यक्रम रहेकाले उनका समर्थकहरू उनलाई स्वागत गर्न राँझा विमानस्थल पुगेका थिए। सो क्रममा समर्थकहरू चढेको गाडीको पछाडिको ढालाबाट केही व्यक्ति खसेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। प्रहरीका अनुसार उक्त घटनामा ४ देखि ५ जना समर्थक सामान्य रूपमा घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक (एसपी)अंगुर जिसीले विमानस्थल क्षेत्रभित्रैको सडक भएकाले गाडीको गति धेरै तीव्र नभएको बताए। “गाडी स्पिडमा नभएकाले ठूलो मानवीय क्षति हुन पाएन,” एसपी जिसीले भने, “घाइतेहरूको अवस्था सामान्य छ र उपचार भइरहेको छ।”
बालेन शाह २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा रास्वपाबाट प्रधानमन्त्रीको उम्मेदवारसमेत रहेका छन्। उनी झापा–५ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका छन्। उम्मेदवारी दर्तापछि पूर्वी पहाडी जिल्लाहरूको भ्रमण सकेर उनी काठमाडौँ फर्किएका थिए। त्यसपछि चुनावी प्रचारका लागि उनी पश्चिम नेपालतर्फ लागेका हुन्।
रास्वपाले बालेनलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारेपछि देशभर उनका समर्थकहरूको सक्रियता बढेको देखिन्छ। विभिन्न जिल्लामा हुने भेटघाट, सभा र स्वागत कार्यक्रममा समर्थकहरूको उल्लेखनीय उपस्थिति देखिँदै आएको छ। नेपालगञ्जको घटनाले भने चुनावी अभियानका क्रममा सुरक्षा र व्यवस्थापनमा थप सतर्कता आवश्यक रहेको संकेत गरेको छ।
प्रहरीले घटनाको थप विवरण संकलन भइरहेको जनाउँदै चुनावी गतिविधिका क्रममा सवारी साधन प्रयोग गर्दा सुरक्षा मापदण्ड पालना गर्न सबै पक्षलाई आग्रह गरेको छ।




