सुनको भाउ इतिहासकै उच्च, तोलामा ३ लाख ९ हजार कायम



काठमाडौं , माघ १२ । नेपाली बजारमा सुनको मूल्यले इतिहासकै नयाँ रेकर्ड कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ तोलामा ५ हजार २ सय रुपैयाँले बढ्दै ३ लाख ९ हजार रुपैयाँ पुगेको हो। यो हालसम्मकै सर्वाधिक उच्च मूल्य हो।

अघिल्लो दिन आइतबार सुनको मूल्य तोलाको ३ लाख ३ हजार ८ सय रुपैयाँ थियो। शुक्रबारको तुलनामा आइतबार मात्रै सुनको भाउ २ हजार ४ सय रुपैयाँले बढेको थियो। पछिल्ला केही दिनयता सुनको मूल्य लगातार उकालो लाग्दै आएको देखिन्छ।

महासंघका अनुसार गत शुक्रबार सुनको मूल्य तोलाको ३ लाख १ हजार ४ सय रुपैयाँ पुगेको थियो। त्यसअघिल्लो दिन बिहीबार भने सुनको मूल्य २ लाख ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। शुक्रबार एकैदिन सुनको भाउ तोलामा ९ हजार २ सय रुपैयाँले बढेपछि बजारमा चासो र चर्चा बढेको थियो। त्यसयता पनि मूल्य घट्नुको सट्टा निरन्तर बढिरहेको छ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि, डलरको विनिमय दरमा आएको उतारचढाव तथा भू–राजनीतिक अनिश्चितताले सुनको भाउ बढ्न सहयोग पुर्‍याएको व्यवसायीहरूको भनाइ छ। यस्ता कारणले लगानीकर्ताहरू सुनतर्फ आकर्षित हुँदा बजारमा मूल्य अझै चर्किन सक्ने अनुमान गरिएको छ।

यसैबीच चाँदीको मूल्य पनि बढेको छ। सोमबार चाँदी तोलाको ६ हजार ७ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार चाँदीको मूल्य तोलाको ६ हजार ४ सय ८० रुपैयाँ थियो भने शुक्रबार ६ हजार १ सय ९० रुपैयाँमा कारोबार भएको थियो।

सुन र चाँदी दुवैको मूल्य बढेपछि उपभोक्तामा थप आर्थिक भार परेको छ। विशेषगरी विवाह तथा शुभकार्यको सिजन नजिकिँदै गर्दा गहना किन्ने योजनामा रहेका उपभोक्ता मूल्यवृद्धिले प्रभावित भएका छन्। यद्यपि व्यवसायीहरूका अनुसार बजारको अवस्था हेर्दा निकट भविष्यमा पनि सुनको मूल्य उच्च नै रहन सक्ने संकेत देखिएको छ।

प्रकाशित मिति: २०८२ माघ १३, सोमवार ११:४१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको