कल्याणपुर , माघ १२ । नेपाली सेनाको राजविराजस्थित बरखगणले आफ्नो २४३औँ वार्षिकोत्सवको अवसरमा बहिरा र बौद्धिक अपाङ्गता भएका विद्यार्थीलाई भोजन गराई न्यानो कपडा वितरण गरेको छ।
बरखगणले राजविराज नगरपालिका–६ मा अवस्थित बहिरा बालक विद्यालयका ३२ जना विद्यार्थीलाई भोजन गराएको साथै सहिद परिवारको तर्फबाट न्यानो ट्र्याकसुट वितरण गरेको हो। वितरण कार्यक्रममा २० जना बहिरा विद्यार्थी र १२ जना बौद्धिक अपाङ्ग विद्यार्थी सहभागी थिए।
बरखगणका गणपति प्रमुख सेनानी सोवित बहादुर चन्दले विद्यार्थीहरूलाई भोजन गराएको र सहिद परिवारले कपडा प्रदान गरेको जानकारी दिनुभयो।
कार्यक्रममा बौद्धिक अपाङ्ग संघका केन्द्रीय सदस्य जगदीश अर्यालले नेपाली सेनाको मानवीय पहलप्रति धन्यवाद व्यक्त गर्दै यस्ता सामाजिक कार्यक्रमले समुदायमा सकारात्मक सन्देश प्रवाह गर्ने बताए।
यो पहलले अपाङ्गता भएका विद्यार्थीको जीवनस्तर सुधार्ने र तिनीहरूको मनोबल बढाउने उद्देश्य राखेको छ।






