मोरङ, माघ १३ । कोशी प्रदेशमा क्रिकेट को विकास र पुनरुत्थान गर्ने उद्देश्यसहित प्रथम ‘एलाइट’ कप क्रिकेट प्रतियोगिता विराटनगरमा आयोजना हुने भएको छ । कोशी प्रादेशिक क्रिकेट सङ्घ र नेपाल क्रिकेट फाउन्डेसनको संयुक्त आयोजनामा माघ १४ देखि १७ गतेसम्म विराटनगर–६ स्थित मरिलेबन क्रिकेट खेलमैदानमा प्रतियोगिता सञ्चालन हुने जानकारी आयोजकले पत्रकार सम्मेलनमार्फत दिएको हो ।
आयोजकका अनुसार प्रतियोगितामा झापा, मोरङ र सुनसरी जिल्लाका टिमहरूको सहभागिता रहनेछ । माघ १४ गते मोरङ र सुनसरीबीच उद्घाटन खेल हुनेछ । त्यसपछि माघ १५ गते झापा र मोरङ तथा माघ १६ गते सुनसरी र झापाबीच प्रतिस्पर्धा हुनेछ । लिग चरणका खेलपछि माघ १७ गते प्रतियोगिताको फाइनल खेल आयोजना गरिने कोशी प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष सर्वजित पाण्डेले जानकारी दिनुभयो ।
प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा कोशी प्रदेशबाट उत्कृष्ट प्रदर्शन गरेका तीन टिमलाई एलाइट कपमा सहभागी गराइएको पाण्डेले बताउनुभयो । आगामी दिनमा यस प्रतियोगितालाई नेपाल क्रिकेट संघ (क्यान) को वार्षिक क्यालेण्डरमा समावेश गराउन पहल गरिने उहाँको भनाइ छ । प्रतियोगिताले पछिल्ला वर्षहरूमा कमजोर बन्दै गएको कोशी प्रदेशको क्रिकेट प्रतिष्ठा पुनःस्थापना गर्न सहयोग पुग्ने विश्वास आयोजकको छ ।
पत्रकार सम्मेलनमा मोरङ क्रिकेट सङ्घका अध्यक्ष मो। सादबाबु र सुनसरी क्रिकेट सङ्घका अध्यक्ष चेतनाथ पौडेलले एलाइट कपको आयोजना कोशी प्रदेशका लागि गौरवको विषय भएको उल्लेख गर्दै यसलाई निरन्तर र दीर्घकालीन रूपमा सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।

यसैबीच, क्रिकेट खेलको प्रवद्र्धन र भुइँतहको खेल विकासका लागि कोशी प्रादेशिक क्रिकेट सङ्घ र नेपाल क्रिकेट फाउन्डेसनबीच भएको सहकार्य महत्वपूर्ण हुने नेपाल क्रिकेट फाउन्डेसनका निर्देशक अभिषेक श्रेष्ठले बताउनुभयो । उक्त सहकार्यले स्थानीयस्तरमा क्रिकेट प्रतिभा पहिचान र विकासमा थप टेवा पुग्ने अपेक्षा गरिएको छ ।







