जनकपुरधाम, माघ १३ । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारहरु मतदाताको घर दैलो पुग्न थालेका छन । चुनावी चर्चाका बीच धनुषाको निर्वाचन क्षेत्र नं. ४ हेभीवेट उम्मेदवारहरुको प्रतिस्र्धाले चुनावी रौनक तताएको छ।
धनुषा ४मा निवर्तमान सांसद रघुविर महासेठ र गत निर्वाचनमा उनका निकटतम प्रतिस्पर्धी महेन्द्र यादवबीच प्रतिस्पर्धाले चुनावी सरगर्मी बढाएको छ।
महासेठ नेकपा एमालेका उपमहासचिव रहनुका साथै पटक पटक मन्त्री , उपप्रधानमन्त्री समेत भइ रहेको हेभिवेट उम्मेदवार हुन भने काँग्रेसका यादव पूर्व सहमहामन्त्री (मधेशी) र मन्त्री भइ सकेका हुन ।
यस पटकको निर्वाचनमा समेत उनिहरु बीचनै मुख्यप्रतिस्पर्धा हुने आकलन गरिएको छ । दुबै जनाको जातीय समीकरण, पार्टी संगठन र व्यक्तिगत सम्बन्ध बलियो आधार रहेको । यता जनता समाजवादी पार्टी नेपालले उम्मेदवार परिवर्तन गरेको छ । पछिल्लो निर्वाचनमा उम्मेदवार रहेका महाजन यादवको ठाउमा जसपा नेपालले डा. ई कृष्णचन्द्र साहलाई उम्मेदवार बनाएको छ ।
जनकपुरधामको प्रमुख दातापरिवार राम स्वरुप रामसागरका नाती साह जसपाको छाता लिएर चुनावी मैदानमा होमिएका कारण यसपालीको चुनावलाई झन रोचक बनाएको छ । पछिल्लो निर्वाचनमा समेत उम्मेदवारी दिएका साह यस पटक जसपा बाट उम्मेदवार भएकाले उनको व्यक्ति सम्बन्ध र पार्टीको मतलाई एक ठाउमा खन्याउन सके बलियो दाबेदारी प्रस्तुत गर्न सक्ने आकलन गरिएको छ ।
आम मतदाता अझै खुलि नसकेको अवस्थामा पुनः हेभीवेटकै प्रतिस्पर्धा होला की दाता परिवारलाई मतदाताले पत्याउलान हेर्न चुनावी नतिजाको प्रतिक्षा गर्नै पर्ने हुन्छ ।




