प्रतिनिधिसभा निर्वाचनका लागि भारतद्वारा नेपाललाई ६१ वटा गाडी सहयोग



काठमाडौँ, माघ १३ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भारत सरकारले नेपाल सरकारलाई ६१ वटा सवारीसाधन उपहारस्वरूप उपलब्ध गराएको छ । निर्वाचन व्यवस्थापनलाई सहज बनाउन भारत सरकारबाट प्राप्त ती क्याबिन पिकअप भ्यानहरू हाल सिंहदरबारस्थित गृहमन्त्रालय अगाडि राखिएको छ ।

माघ ६ गते सिंहदरबारमा आयोजित एक औपचारिक कार्यक्रममा भारतीय दूतावासले नेपाल सरकारलाई ती सवारीसाधन हस्तान्तरण गरेको थियो । गृह मन्त्रालयले अर्थ मन्त्रालयमार्फत निर्वाचन प्रयोजनका लागि वस्तुगत सहयोगस्वरूप सवारीसाधन आवश्यक रहेको प्रस्ताव भारत सरकारसमक्ष पठाएको थियो । सोही प्रस्तावअनुसार भारत सरकारले पहिलो चरणमा ६१ वटा गाडी नेपाल सरकारलाई उपलब्ध गराएको जनाइएको छ ।

सरकारी अधिकारीहरूका अनुसार यसपटकको प्रतिनिधिसभा निर्वाचनका लागि भारत सरकारले साना–ठूला गरी कुल ५३८ वटा गाडी सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । यी सवारीसाधन निर्वाचन अवधिमा सुरक्षा व्यवस्थापन, मतदान सामग्री ढुवानी तथा प्रशासनिक काममा प्रयोग गरिनेछ ।

नेपाल सरकारको नाममा प्राप्त भएकाले निर्वाचन सम्पन्न भएपछि ती गाडीहरू सरकारको आवश्यकताअनुसार विभिन्न निकायमा प्रयोग गर्न सकिने गृह मन्त्रालयले जनाएको छ । निर्वाचनजस्तो संवेदनशील र व्यापक प्रक्रियामा सवारीसाधनको भूमिका महत्वपूर्ण हुने भएकाले यस किसिमको सहयोगले व्यवस्थापनमा सहजता ल्याउने अपेक्षा गरिएको छ ।

भारत सरकारले विगतका निर्वाचनहरूमा पनि नेपाललाई सवारीसाधन, मतदान सामग्री तथा अन्य प्राविधिक उपकरण सहयोग गर्दै आएको छ । यसलाई नेपाल–भारतबीचको द्विपक्षीय सहकार्य र लोकतान्त्रिक प्रक्रियाप्रतिको सहयोगका रूपमा हेरिएको छ ।

निर्वाचन नजिकिँदै जाँदा सरकारले आवश्यक तयारी तीव्र बनाइरहेको छ भने अन्तर्राष्ट्रिय मित्र राष्ट्रहरूको सहयोगले निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र प्रभावकारी रूपमा सम्पन्न हुने विश्वास लिइएको छ ।

प्रकाशित मिति: २०८२ माघ १४, मंगलवार १४:०४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको