काठमाडौँ, माघ १३ । प्रधानमन्त्री सुशीला कार्कीले सडक पूर्वाधार तथा विकास निर्माणका काम अघि बढाउँदा धार्मिक विश्वास र सांस्कृतिक सम्पदा मा असर पर्न नहुनेमा जोड दिनुभएको छ । राष्ट्रिय गौरवको आयोजना काठमाडौँ–तराई मधेश द्रुतमार्गको निरीक्षणका क्रममा प्रधानमन्त्री कार्कीले स्थानीय जनताको सरोकारलाई गम्भीरतापूर्वक लिन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको हो ।
ललितपुरको खोकनामा आयोजना गरिएको कार्यक्रममा प्रधानमन्त्री कार्कीले विकासका नाममा स्थानीयको आस्था, संस्कृति र परम्परामाथि आँच नआउने गरी काम गर्नुपर्ने बताउनुभयो । “स्थानीयका सरोकारलाई गम्भीर रूपमा ध्यान दिई समाधान खोज्नुपर्छ । आवश्यक परेमा रेखाङ्कन र जिरो बिन्दु परिवर्तन गर्नसमेत तयार हुनुपर्छ,” उहाँले भन्नुभयो, “जनताको विश्वासमा आघात नपुग्ने गरी विकास निर्माण अघि बढाउनुपर्छ ।”
प्रधानमन्त्री कार्कीले भौतिक संरचना निर्माण गर्दा खुला र खाली ठाउँको महत्वलाई पनि ध्यान दिनुपर्ने उल्लेख गर्नुभयो । उहाँले प्राकृतिक विपद्, चाडपर्व, मेला, भेला तथा आवतजावतका लागि खुला स्थान अपरिहार्य हुने भएकाले योजना बनाउँदा नै पर्याप्त खुला क्षेत्र छाड्नुपर्ने धारणा राख्नुभयो ।
यसअघि प्रधानसेनापति अशोकराज सिग्देल र आयोजनाका प्रमुख उपरथी धर्मेन्द्र झाले आयोजनाको हालसम्मको प्रगति, चुनौती तथा आगामी कार्ययोजनाबारे प्रधानमन्त्रीलाई जानकारी गराउनुभएको थियो । निरीक्षण टोलीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री, परराष्ट्रमन्त्री तथा विभिन्न मन्त्रालयका सचिवहरू सहभागी थिए ।
नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन काठमाडौँ–तराई मधेश द्रुतमार्गको कुल लम्बाइ ७० दशमलव ९७७ किलोमिटर रहेको छ । विस्तृत आयोजना प्रतिवेदन ९डीपीआर० स्वीकृतिमा ढिलाइ हुँदा सुरुमा केही समय आयोजनाको काम प्रभावित भए पनि हाल भौतिक प्रगति करिब ४५ प्रतिशत पुगेको छ ।
आयोजनाअन्तर्गत ८७ वटाभन्दा बढी पुल र सात वटा सुरुङ निर्माण गर्नुपर्नेछ । केही पुल ८२ मिटरभन्दा बढी अग्ला रहेका छन् । सेनाका अनुसार आयोजना विसं २०८३ चैत मसान्तभित्र करिब २ खर्ब १३ अर्ब रुपैयाँ लागतमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
द्रुतमार्ग निर्माणपछि काठमाडौँ उपत्यका र मध्यतराईबीच सिधा सम्पर्क स्थापित हुने, ढुवानी लागत र समय घट्ने तथा समग्र आर्थिक विकासमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।






