जनताले आफुलाई बहुमतसहित जिताउनेछन् : योगेन्द्र यादव



ओम प्रकाश यादव
रौतहट, माघ १४। रौतहट क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार योगेन्द्र राय यादवले यसपटक आफ्नो जित कसैले रोक्न नसक्ने दाबी गरेका छन्। बिगतमा प्रदेश सांसद हुँदा जनताको मन जित्ने काम गरेको र हाल कुनै सार्वजनिक पदमा नरहे पनि निरन्तर जनताको सुख–दुःखमा साथ दिँदै आएको कारण यसपटक जनताले आफुलाई  बहुमतसहित विजयी बनाउने विश्वास व्यक्त गरे।

दुर्गाभगवती गाउँपालिका–५ बडहरवास्थित सामुदायिक भवनमा आज आयोजित पार्टीका अगुवा तथा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै जसपा नेपालका रौतहट क्षेत्र नं १ का उम्मेदवार यादवले गाउँ–गाउँमा जनताले आफूलाई मत दिन आतुर रहेको बताए। जनताको व्यापक समर्थनका कारण आफ्नो जित सुनिश्चित रहेको उनको भनाइ थियो।

उनले यस क्षेत्रबाट पटक–पटक निर्वाचित पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल तथा मधेसवादी राजनीति छाडेर कांग्रेसको टिकटबाट उम्मेदवार बनेका अनिल कुमार झा सांसद हुँदा पनि ठोस विकासका काम गर्न नसकेको आरोप लगाए। उनीहरू निर्वाचित हुँदा समेत क्षेत्रको समस्या समाधान हुन नसकेको भन्दै जनताले यसपटक परिवर्तन चाहेको यादवले बताए।

रौतहट क्षेत्र नं १ सधैं बाढी र डुबानको चपेटामा पर्ने गरेको उल्लेख गर्दै उनले यसअघि यही क्षेत्रबाट निर्वाचित माधव कुमार नेपाल र अनिल कुमार झाले बागमती नदीमा मजबुत तटबन्ध निर्माण गर्न नसकेको बताए। त्यसकै कारण यहाँका जनता वर्षेनी बाढी र डुबानको गम्भीर समस्या झेल्दै आएको उनको भनाइ थियो।

यसैक्रममा उनले माधव कुमार नेपाल र अनिल कुमार झाका कारण आजसम्म पनि बागमती नदीको बडहरवा घाट, पिपरा घाट तथा लालबकैया नदीको टिकुलिया घाटमा पुल निर्माण हुन नसकी अधुरै रहेको बताए। पुल नबन्दा स्थानीय बासिन्दा आज पनि डुंगामार्फत जोखिमपूर्ण रूपमा नदी वारपार गर्न बाध्य रहेको उल्लेख गर्दै यसले दैनिक जीवन, शिक्षा, स्वास्थ्य र व्यापारमा गम्भीर असर पारेको उनको भनाइ थियो।

योगेन्द्र राय यादवले आफू निर्वाचन जितेपछि सबैभन्दा पहिला बागमती नदीमा मजबुत तटबन्ध निर्माण गर्ने र बागमती तथा लालबकैया नदीमा वर्षौंदेखि अधुरा रहेका पुलहरू निर्माण कार्य सम्पन्न गर्ने स्पष्ट प्रतिबद्धता जनाए। यी संरचना निर्माण भएपछि क्षेत्रका नागरिकले बाढी, डुबान र आवागमनको समस्याबाट स्थायी राहत पाउने उनले बताए।

असफल भइसकेका उम्मेदवारलाई यसपटक जनताले परास्त गर्ने र समस्या समाधान गर्न नसक्ने नेताहरूलाई सबक सिकाउने बेला आएको यादवले बताए। बाढी नियन्त्रणको काम आफूले गरेर देखाउने प्रतिबद्धता जनाउँदै उनले बागमती नदीमा बलियो तटबन्ध निर्माण गरी क्षेत्र नं १ का जनतालाई बाढी र डुबानको समस्याबाट स्थायी रूपमा मुक्त गर्ने दाबी गरे।

बागमती नदीमा ठोस र मजबुत तटबन्ध निर्माण गरी दीर्घकालीन समाधान आफूले मात्र गर्न सक्ने भन्दै योगेन्द्र राय यादवले बहुमतसहित जिताउन क्षेत्रवासी सबैसँग आग्रह गरे।

कार्यक्रममा जसपा नेपालका नेता एवं पूर्व प्रदेश सांसद बाबूलाल साह, प्रदेश सांसद शोभा देवी साह, नेता अनिल कुमार सिंह, महिला नेतृ किरण ठाकुर, पार्टीका जिला अध्यक्ष राजीव रंजन यादव, पूर्व जिला अध्यक्ष श्याम बिहारी यादव, क्षेत्रीय अध्यक्ष हरिनारायण प्रसाद यादव लगायतका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो।

प्रकाशित मिति: २०८२ माघ १५, बुधवार ०७:५८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको