शहीद दुर्गानन्द झालाई राष्ट्रिय विभूति घोषणा गर्न माग



जनकपुरधाम, माघ १५ । प्रथम गणतन्त्रवादी शहीद दुर्गानन्द झालाई राष्ट्रिय विभूति घोषणा गर्न मांग गरिएको छ। शहीद दुर्गानन्द स्मारक संरक्षण समितिद्वारा ६२औँ बलिदान दिवसको अवसरमा जनकपुरधाम उपमहानगरपालिका–२३ स्थित सोनामाई स्थानमा आयोजित बलिदान दिवस समारोहमा वक्ताहरुले शहीद दुर्गानन्द झालाई राष्ट्रिय विभूति घोषणा गर्न सरकारसँग माग गरेका हुन ।

कार्यक्रमलाई सम्बोधन गर्दै मधेश प्रदेश सभामुख रामआशिष यादवले अमर शहीद दुर्गानन्द झा गणतन्त्र नेपालका प्रेरणाका स्रोत भएको उल्लेख गर्दै उनको योगदान, देश र जनताका लागि खेलेको ऐतिहासिक भूमिकाबारे अभिलेखालय स्थापना गर्न सरकारसँग विशेष आग्रह गरे । उनले दुर्गानन्द झाका सहयात्री क्रान्तिवीर महामना राजेश्वर नेपालीको अथक प्रयासबाट शहीद झाको पूर्णकदको सालिक निर्माण भएकोमा आभार समेत प्रकट गरे ।

स्मारक संरक्षण समितिका अध्यक्ष तथा वडा नं. २३ का वडाध्यक्ष राघवेन्द्र साहले शहीद दुर्गानन्द झाको बलिदान शोषण, दमन र उपेक्षाविरुद्धको ऐतिहासिक संघर्ष भएको उल्लेख गर्दै नेपाल गणतन्त्र घोषणा भएपछि २०६५ साल असार ९ गते महामना राजेश्वर नेपालीको अध्यक्षतामा सात सदस्यीय अमर शहीद दुर्गानन्द झा स्मारक निर्माण समिति गठन गरिएको र २०६६ साल श्रावण ९ गते जानकी मन्दिर गुठी कार्यालयबाट मन्दिर अगाडिको पार्कमा स्मारक निर्माणका लागि जग्गा उपलब्ध गराइएको जानकारी दिए ।

उनका अनुसार २०६६ साल श्रावण २१ गते तत्कालीन संविधानसभा सदस्य तथा दुर्गानन्द झाकी धर्मपत्नी काशीदेवी झाद्वारा स्मारकको शिलान्यास गरिए पनि पछि मुद्दा दायर भएपछि २०६७ साल चैत ८ गते जनकपुर पुनरावेदन अदालतले निर्माणमा रोक लगाएको थियो। रोक फुकुवा भएपछि समेत सहयोग नपाउँदा २०८० साल जेठ १५ गते गणतन्त्र दिवसका अवसरमा वडा नं. २३ लादोस्थित स्थानमा महामना राजेश्वर नेपालीले शहीद दुर्गानन्द झाको सालिक अनावरण गरेका थिए । त्यसै वर्ष भदौ ११ गते उनको निधन भएको साहले जानकारी दिए ।

वरिष्ठ पत्रकार श्रीनारायण साहले प्रथम गणतन्त्रवादी शहीद दुर्गानन्द झालाई राष्ट्रिय विभूति घोषणा गर्न जोडदार माग गर्दै शहीदहरूको भावना अनुसार संविधान संशोधन आवश्यक रहेको धारणा व्यक्त गरेका थिए ।

वक्ताहरूले गणतन्त्र नेपालमा शहीदहरूको सम्मान हुन नसक्दा राजनीतिक अस्थिरता बढेको भन्दै शहीदहरूमा भेदभाव नगरी दुर्गानन्द झालाई पनि दशरथचन्द, शुक्रराज, धर्मभक्त र गंगालाल सरह सम्मान दिनुपर्नेमा जोड दिएका थिए।

कार्यक्रममा प्रा. रमेशकुमार साह, सीमाञ्चल दैनिकका सम्पादक उपेन्द्र भगत नागबंशी, डा. शम्भु साह, सरफुद्दीन राइन, सफिकुल्ला राइन, वडा सदस्य विभा देवी ठाकुर, सकुन्ती देवी महरा, मोहिनुद्दीन राइन, पूर्व वडा सदस्य कैलास साह, देवेन्द्र महतो, सन्तोष चौधरी, गुलाब साहलगायतले विचार व्यक्त गरेका थिए। कवि चन्द्रशेखर राय ‘चमन’ लगायतका कविहरूले शहीद दुर्गानन्द झाको बलिदानप्रति समर्पित कविता पाठ गरेका थिए।

प्रकाशित मिति: २०८२ माघ १६, बिहिवार १६:१८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको