एजेन्सी, माघ १५ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ईरानप्रति आफ्नो कडा नीति कायम राख्दै फेरि एकपटक सैन्य दबाब र कूटनीतिक सन्देश एकसाथ दिएका छन् । उनले ईरान तर्फ अमेरिकी नौसेना अघि बढिरहेको दाबी गर्दै तेहरानलाई चेतावनी दिएका हुन् । तर, उनले संवादको ढोका अझै खुला रहेको संकेत पनि गरेका छन् ।
आयोवामा आयोजित एक चुनावी कार्यक्रममा बोल्दै ट्रम्पले पश्चिम एसियामा अमेरिकी सैन्य उपस्थिति उल्लेखनीय रूपमा बढाइएको बताए । उनले भने, “एउटा सुन्दर अर्को आर्माडा ईरानतर्फ अघि बढिरहेको छ । मलाई आशा छ, उनीहरूले सम्झौता गर्नेछन् । पहिलो पटकमै सम्झौता गरेको भए राम्रो हुन्थ्यो, त्यसो भए उनीहरूसँग सुरक्षित देश हुन्थ्यो ।” ट्रम्पको यो अभिव्यक्तिलाई अमेरिकी शक्ति प्रदर्शनसँगै कूटनीतिक दबाबका रूपमा हेरिएको छ ।
यसअघि पनि ट्रम्पले यस्तै अभिव्यक्ति दिएका थिए । उनले अमेरिकी युद्धपोतहरू सो क्षेत्रमा तैनाथ भए पनि तिनको प्रयोग नहुन सक्ने सम्भावना रहेको बताएका थिए । आर्माडा भन्नाले एकैसाथ मिशन वा सम्भावित युद्धका लागि अघि बढाइने धेरै युद्धपोतहरूको समूहलाई जनाइन्छ ।
अमेरिका र ईरानबीच पछिल्ला दिनमा तनाव बढ्दै गएको छ । विशेषगरी ईरानमा भइरहेको प्रदर्शन र त्यसमा सुरक्षा बलको कारबाहीलाई लिएर ट्रम्पले कडा प्रतिक्रिया जनाउँदै आएका छन् । उनले प्रदर्शनकारीमाथि गोली चलाइए अमेरिकाले सहयोग गर्ने चेतावनीसमेत दिएका थिए ।
यद्यपि, ईरानले संवादको संकेत पनि दिएको छ । आईएएनएसका अनुसार ईरानी राष्ट्रपति मसूद पेजेश्कियानले अन्तर्राष्ट्रिय कानुनअन्तर्गत शान्ति स्थापना र युद्ध रोक्ने कुनै पनि प्रयासमा ईरान सहकार्य गर्न तयार रहेको बताएका छन् । उनले साउदी अरबका क्राउन प्रिन्स मोहम्मद बिन सलमानसँगको टेलिफोन वार्तामा नागरिक अधिकारको संरक्षण ईरानको प्राथमिकता रहेको उल्लेख गरेका थिए ।
यसैबीच, एपीका अनुसार ट्रम्पले इराकलाई पनि चेतावनी दिएका छन् । यदि पूर्व प्रधानमन्त्री नूरी अल–मलिकी पुनः सत्तामा फर्किए अमेरिका इराकलाई समर्थन नगर्ने उनको भनाइ छ । ट्रम्प प्रशासनले नूरीलाई ईरान निकट नेता मान्दै आएको छ ।




