एजेन्सी, माघ १५ । बंगलादेशमा १२ फेब्रुअरीमा हुने आम चुनावको तयारी क्रममा हिंसा बढेको छ । उम्मेदवार, सुरक्षाकर्मी र चुनावी पूर्वाधारलाई लक्षित गर्दै गरिएका हमलाले देशभर सुरक्षा चुनौती र लोकतान्त्रिक प्रक्रिया जोखिममा परेको छ।
स्थानीय सञ्चारमाध्यमका अनुसार चुनावी प्रचार सुरु भएदेखि नै गोलीकाण्ड, चक्कु प्रहार र तोडफोडका घटनाहरू बढ्दै गएको छ। अहिलेसम्म धेरै व्यक्तिहरू घाइते भएका छन् भने केहीको मृत्यु पनि भएको छ। धेरै उम्मेदवारले आफ्नो जीवनको जोखिम भएको भन्दै प्रहरीमा ‘जनरल डायरी’ दर्ता गराएका छन् र विशेष सुरक्षा माग गरेका छन्।
हिंसाका कारण चुनावी पूर्वाधार पनि ठूलो क्षतिमा परेको छ। निर्वाचन कार्यालय, प्रचारका लागि प्रयोग हुने लाउडस्पिकर, वाहन र मतदान केन्द्रमा रहेका क्यामरा जस्ता उपकरणहरू ध्वस्त वा लुटिएका छन्। राजनीतिक विश्लेषकहरूले स्थानीय प्रशासन र अन्तरिम सरकारको संरक्षणमा यस प्रकारको भीड हिंसाले बढेको बताएका छन्।
अहिलेसम्मको घटनाहरूमा मुख्य रूपमा बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) र कट्टरपन्थी संगठन जमात–ए–इस्लामीका कार्यकर्ताहरू संलग्न भएको खबर छ। पाँच जिल्लामा भएका झडपमा कम्तीमा २४ जना घाइते भएका छन्।
ढाकामा आयोजित ‘सेन्टर फर गभर्नन्स स्टडिज’ कार्यक्रममा विशेषज्ञहरूले चेतावनी दिए कि राजनीतिक दबाब, मीडिया माथि नियन्त्रण र कानून(व्यवस्था कमजोर हुनु लोकतन्त्रको भविष्यका लागि चुनौतीपूर्ण छ। अमेरिकी सेनेट इंटेलिजेन्स कमिटीका अध्यक्ष मार्क वार्नरले पनि चुनावको निष्पक्षता र क्षेत्रीय सुरक्षा माथि चिन्ता व्यक्त गरेका छन्।
हाल देशभर मतदाताहरू डर र अनिश्चिततामाझ मतदानतर्फ बढिरहेका छन्। सुरक्षा व्यवस्थामा सुधार नगरी चुनाव सम्पन्न भएमा लोकतान्त्रिक प्रक्रियाको साखमा प्रश्न उठ्ने सम्भावना छ।






