गगनले कांग्रेस प्रवेश गराएका वडा अध्यक्ष गुप्ता जसपा नेपालमै फर्किए



सर्लाही, माघ १५ । कांग्रेस सभापति गगन थापाले पार्टी प्रवेश गराएका सर्लाहीको गोडैता नगरपालिका–५ का वडाध्यक्ष प्रकाशप्रसाद गुप्ता जनता समाजवादी पार्टी (जसपा) नेपालमै फर्किएका छन ।

बुधबार मात्रै नेपाली कांग्रेसका सभापति गगन थापाले उनलाई कांग्रेसमा प्रवेश गराएका थिए। तर त्यसको भोलिपल्टै वडाध्यक्ष गुप्ताले कांग्रेस छोडेर जसपा नेपालमै फर्किएको सार्वजनिक रूपमा घोषणा गरेका हुन्।

जसपाबाट निर्वाचित वडाध्यक्ष गुप्ताले आगामी निर्वाचनमा समेत जसपा नेपाललाई नै सहयोग गर्ने स्पष्ट पारेका छन्। एक भिडियो सन्देशमार्फत उनले आफू सुरुदेखि नै जसपाप्रति प्रतिबद्ध रहेको र गोडैता नगरपालिका–५ का निर्वाचित वडाध्यक्षका रूपमा निरन्तर काम गरिरहेको बताए।

उनले पार्टीगत गठबन्धनका कारण केही समयका लागि नेपाली कांग्रेस मधेश प्रदेशका उपसभापति वीरेन्द्र सिंहसँग नजिकिएको र सोही सन्दर्भमा कांग्रेसतर्फ गएको बताए। उक्त क्रममा आफूलाई सम्मान गरिएको भए पनि पार्टी परिवर्तन गर्ने आफ्नो उद्देश्य नरहेको उनको भनाइ थियो।

वडाध्यक्ष गुप्ताले जसपा नेपाल छोडेर अन्य कुनै दललाई भोट नदिने र पार्टीप्रति पूर्ण निष्ठा कायम राख्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।

उल्लेखनीय छ, बुधबार सर्लाहीको गोडैता क्षेत्रमा गगन थापालाई सहयोग गर्ने प्रतिबद्धतासहित गुप्तासहित चार जना वडाध्यक्ष नेपाली कांग्रेसमा प्रवेश गरेका थिए।

प्रकाशित मिति: २०८२ माघ १५, बिहीबार १९:११

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको