निर्वाचनका लागि १९ अर्ब १५ करोड स्रोत सहमति, ६ अर्ब ३५ करोडभन्दा बढी निकासा



काठमाडौं, माघ १६ । अर्थ मन्त्रालयले आगामी निर्वाचन प्रयोजनका लागि कुल १९ अर्ब १५ करोड रुपैयाँ बराबरको स्रोत सहमति प्रदान गरेको छ । मन्त्रालयको तथ्यांकअनुसार यसमध्ये हालसम्म ६ अर्ब ३५ करोड रुपैयाँभन्दा बढी रकम निकासा भइसकेको छ ।

मन्त्रालयका अनुसार आगामी फागुन २१ गतेका लागि तय गरिएको निर्वाचनका लागि सबैभन्दा धेरै स्रोत सहमति निर्वाचन आयोगलाई दिइएको छ । अर्थ मन्त्रालयले निर्वाचन आयोगलाई १८ कात्तिकमा ४ अर्ब ९६ करोड रुपैयाँ बराबरको स्रोत सहमति प्रदान गरेको थियो । त्यसपछि २० पुसमा थप १ अर्ब ७७ करोड ९० लाख रुपैयाँ स्रोत सहमति दिइएको छ ।

यसअनुसार निर्वाचन आयोगलाई मात्रै हालसम्म ६ अर्ब ७३ करोड ६६ लाख ९० हजार रुपैयाँ बराबरको स्रोत सहमति उपलब्ध गराइएको अर्थ मन्त्रालयले जनाएको छ । आयोगलाई १२ मंसिरमा ४ करोड ३१ लाख रुपैयाँ पहिलोपटक निकासा गरिएको थियो । मन्त्रालयका तथ्यांकअनुसार अहिलेसम्म निर्वाचन आयोगलाई ६ अर्ब ३१ करोड रुपैयाँभन्दा बढी रकम निकासा भइसकेको छ ।

निर्वाचनको सुरक्षाका लागि सुरक्षा निकायहरूलाई पनि ठूलो परिमाणमा बजेट स्रोत सहमति दिइएको छ । अर्थ मन्त्रालयले राष्ट्रिय अनुसन्धान विभागका लागि १३ कात्तिकमा २ करोड ८० लाख रुपैयाँ बराबरको स्रोत सहमति दिएको जनाएको छ ।

त्यसैगरी, नेपाली सेनालाई उपकरण खरिदका लागि २८ मंसिरमा ४ करोड ४२ लाख ५० हजार रुपैयाँ बराबरको स्रोत सहमति दिइएको थियो । साथै, २० पुसमा नेपाली सेनालाई थप १ अर्ब ९४ करोड रुपैयाँ बराबरको स्रोत सहमति प्रदान गरिएको छ ।

गृह मन्त्रालय र त्यसअन्तर्गतका निकायहरूलाई निर्वाचन व्यवस्थापन तथा सुरक्षाका लागि १० अर्ब ३९ करोड रुपैयाँ बराबरको स्रोत सहमति दिइएको अर्थ मन्त्रालयले स्पष्ट पारेको छ ।

अर्थ मन्त्रालयका अनुसार निर्वाचन निष्पक्ष, सुरक्षित र समयमै सम्पन्न गर्न आवश्यक बजेट व्यवस्थापनलाई प्राथमिकता दिइएको छ । आगामी दिनमा आवश्यकता अनुसार थप निकासाको प्रक्रिया अघि बढाइने जनाइएको छ ।

प्रकाशित मिति: २०८२ माघ १७, शुक्रवार १२:५९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको