प्रत्येक निर्वाचन क्षेत्रमा सशस्त्र प्रहरीको बेस, सिनामंगलमा दुई गण फौज स्ट्याण्डबाई



काठमाडौं, माघ १६ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई निष्पक्ष, भयरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन सशस्त्र प्रहरी बल नेपालले व्यापक सुरक्षा तयारी गरेको छ । केन्द्रीय सुरक्षा समितिबाट स्वीकृत एकीकृत सुरक्षा योजनाअनुसार निर्वाचन सुरक्षामा करिब ३१ हजार सशस्त्र प्रहरी परिचालन गरिने भएको छ ।

सुरक्षा योजनाअनुसार सशस्त्र प्रहरी निर्वाचनको दोस्रो सुरक्षा घेरामा परिचालित हुनेछ । प्रत्येक निर्वाचन क्षेत्रमा सुरक्षा मजबुत बनाउन सशस्त्र प्रहरीले १६५ निर्वाचन क्षेत्रमै सुरक्षा बेस स्थापना गर्ने प्रक्रिया अघि बढाएको छ । योजना अनुसार निर्वाचनभन्दा करिब एक महिनाअघि नै यी बेसहरू स्थापना गरिनेछन् ।

सशस्त्र प्रहरीका अनुसार हिमाली क्षेत्रमा १७ स्थान, पहाडी क्षेत्रमा ७० स्थान र तराईका जिल्लामा ७८ स्थानमा निर्वाचन क्षेत्र सुरक्षा बेस स्थापना हुनेछन् । माघ २१ गतेदेखि ती बेसहरू सञ्चालनमा ल्याइने तयारी भइरहेको सशस्त्र प्रहरी बलका अधिकारीहरूले जनाएका छन् ।

तराईका संवेदनशील जिल्लामा थप सतर्कता अपनाउँदै प्रत्येक निर्वाचन क्षेत्रमा चारवटा स्ट्राइकिङ फौज परिचालन गरिने छ । पहाडी जिल्लामा प्रत्येक निर्वाचन क्षेत्रमा तीनवटा र हिमाली क्षेत्रमा एकवटा स्ट्राइकिङ फौज परिचालन हुने सुरक्षा योजनामा उल्लेख छ । यी स्ट्राइकिङ तथा मोबाइल टोलीहरू निर्वाचनको १५ दिनअघि नै सवारी साधनसहित परिचालित हुनेछन् ।

निर्वाचन सुरक्षामा खटिने सशस्त्र प्रहरीका सकलदर्जालाई विशेष अनुशिक्षण तालिम दिइने व्यवस्था गरिएको छ । यसका लागि आवश्यक पाठ्यक्रम तयार गरी निर्वाचनअघि नै तालिम सम्पन्न गरिने जनाइएको छ ।

साथै, सशस्त्र प्रहरी बलले एसएसपीको नेतृत्वमा केन्द्रीय निर्वाचन सेल गठन गरेको छ । सातै प्रदेशका बाहिनी, गण र गुल्म तहमा समेत निर्वाचन सेल गठन गरिनेछ ।

निर्वाचनको दिन आकस्मिक अवस्थाको सामना गर्न हलचोकस्थित नम्बर–१९ विशेष कार्यदल गण र सिनामंगलस्थित नम्बर–२० विपद् उद्धार गण का फौजलाई हेली–लिफ्ट गर्न सक्ने गरी स्ट्याण्डबाई राखिने सुरक्षा योजनामा उल्लेख छ ।

प्रकाशित मिति: २०८२ माघ १७, शुक्रवार १३:३८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको