धनगढी, माघ १६ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) सहभागी भएका कार्यक्रममा सुनका गहनाहरू चोरी हुने घटना भएको छ । कञ्चनपुर र अछाम जिल्लामा बालेनको चुनावी भेटघाटका क्रममा भिडभाडमा लुटपाट भएको हो ।
अछाममा चोरीको प्रयास गर्ने एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालका अनुसार, साँफेबगर नगरपालिका–५ नौँठाना बस्ने ४० वर्षीया सत्यदेवी कुँवरको लगाएको १२.१७ ग्राम सुनको सिक्री चोरी गर्ने क्रममा मैनपुर गाउँपालिका–५ बस्ने ३१ वर्षीय उमेश रायलाई प्रहरीले पक्राउ गरेको हो ।
डीएसपी खनालले जानकारी दिनुभयो, “साँफेबगर नगरपालिका–४ छिपेखोलास्थित रास्वपाको पार्टी कार्यालय नजिक बालेनको कार्यक्रममा भीडभाड थियो। सोही क्रममा रायले चोरीको प्रयास गर्दा पक्राउ परे ।” उनले थपे, उक्त कार्यक्रममा अन्य व्यक्तिका गहनाहरू पनि चोरी भएको र खोजतलास जारी रहेको छ । प्रारम्भिक रिपोर्टअनुसार साँफेबगर कार्यक्रममा सात जना महिलाको सुनको गहना लुटिएको तथ्य पाइएको छ ।
कञ्चनपुरको झलारीमा पनि बालेन हेर्ने भिडभाडमा केही व्यक्तिको गहना हराएको छ । यहाँ धनगढी–२ का मनोज चौधरी र धनगढी–३ का सञ्जीव मल्लको सिक्री गायब भएको प्रहरी स्रोतले जनाएको छ ।
प्रहरीले घटनास्थलको भीड व्यवस्थापनमा ध्यान नदिँदा सुनको चोरीको अवसर सिर्जना भएको बताएको छ । बालेनको कार्यक्रममा सहभागीहरूले व्यक्तिगत सम्पत्ति जोगाउन सतर्क रहनुपर्ने सुझाव दिइएको छ ।
यसैबीच, स्थानीय प्रशासन र प्रहरीले चोरीमा संलग्न अन्य व्यक्तिहरूको पहिचानका लागि अनुसन्धान जारी राखेको छ । उम्मेदवारको चुनावी गतिविधिसँगै भिडभाडमा हुने चोरीका घटनाप्रति प्रहरी सतर्क भएको जनाइएको छ ।




