साढे २० हजार रुपैयाँले घट्यो सुनको मूल्य, चाँदी पनि ओरालो



जनकपुरधाम , माद्य  १६ । अघिल्लो दिन ऐतिहासिक उच्च विन्दुमा पुगेको सुनको मूल्य एकाएक ओरालो लागेको छ । शुक्रबार नेपाली बजारमा सुनको मूल्य तोलामा साढे २० हजार रुपैयाँभन्दा बढीले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २० हजार ५०० रुपैयाँले घट्दै ३ लाख १८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि बिहीबार सुनको मूल्य तोलामा २० हजार ५०० रुपैयाँले बढेर ३ लाख ३९ हजार ३०० रुपैयाँ पुगेको थियो, जुन हालसम्मकै उच्च मूल्य हो । तर एकै दिनमै सोही परिमाणले मूल्य घटेपछि बजारमा सुनचाँदी कारोबारमा केही सुस्तता देखिएको व्यवसायीहरूले बताएका छन् ।

महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा देखिएको उतारचढाव, डलरको मूल्यमा आएको परिवर्तन तथा लगानीकर्ताको मनोविज्ञानका कारण सुनको मूल्यमा तीव्र गिरावट आएको हो । पछिल्लो समय विश्व बजारमा सुनको मूल्य निरन्तर बढ्दै गएको भए पनि केही दिनयता करेक्सन सुरु भएको संकेत देखिएको छ ।

सुनसँगै चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा ४४० रुपैयाँले घट्दै ७ हजार ६५ रुपैयाँमा झरेको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी तोलामा २०५ रुपैयाँले बढेर ७ हजार ५०५ रुपैयाँमा कारोबार भएको थियो ।

व्यवसायीहरूका अनुसार सुनको मूल्यमा यस किसिमको तीव्र उतारचढाव हुँदा सर्वसाधारण उपभोक्ता मात्र होइन, लगानीकर्तासमेत अन्योलमा परेका छन् । विशेषगरी विवाह तथा शुभकार्यको मौसम नजिकिँदै गर्दा सुनको मूल्य घट्नु उपभोक्ताका लागि राहतको विषय भए पनि मूल्य स्थिर नहुँदा खरिद निर्णय गर्न कठिनाइ भइरहेको बताइएको छ ।

आगामी दिनमा अन्तर्राष्ट्रिय बजारको अवस्थाअनुसार सुनचाँदीको मूल्य फेरि बढ्न वा घट्न सक्ने महासंघले जनाएको छ । त्यसैले सुनमा लगानी गर्न चाहनेले बजारको अवस्था बुझेर मात्र निर्णय लिन व्यवसायीहरूको सुझाव छ ।

प्रकाशित मिति: २०८२ माघ १७, शुक्रवार ११:३६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको