काठमाडौं, माघ १६। संघीय राजधानी काठमाडौंलाई मधेशसँग जोड्ने काठमाडौं–तराई फास्ट ट्र्याक तोकिएको समयसीमाभित्र सम्पन्न गर्ने गरी काम भइरहेको छ। नेपाली सेनाका सैनिक प्रवक्ता एवं सहायक रथी राजाराम बस्नेतका अनुसार सरकारले तोकेको समयसीमा २०८३ चैत मसान्त हो र सोही अनुसार निर्माण कार्य अघि बढिरहेको छ।
फास्ट ट्र्याकको भौतिक प्रगति ४५।१६ प्रतिशत र वित्तीय प्रगति ४५।३३ प्रतिशत पुगेको छ। यो मार्गमा १०.९७९ किलोमिटर सुरुङ मार्ग निर्माण भइरहेको छ। लेन डाँडा र धेद्रे सुरुङको क्रमशः १।६२६ किलोमिटर र १.६९१ किलोमिटर भाग ब्रेकथ्रु भइसकेको छ भने महादेवटार सुरुङमार्गको ७० प्रतिशत काम सम्पन्न भएको छ।
फास्ट ट्र्याक अन्तर्गत ८९ वटा पुल निर्माण गर्नुपर्नेमा अहिलेसम्म १३ वटा पुल निर्माण सम्पन्न भइसकेका छन् र ८५ वटाको ठेक्का भएर काम सुरु भएको छ।
निर्माण क्रममा पर्यावरणीय व्यवस्थापन पनि ध्यानमा राखिएको छ। कुल ५४ हजार रुख कटान भए पनि हालसम्म ७ लाख ५० हजार नयाँ बिरुवा रोपिएको छ। तीमध्ये १ लाख ५१ हजार बिरुवा हुर्काएर सामुदायिक वनमा हस्तान्तरण गरिएको प्रवक्ता बस्नेतले जानकारी दिनुभयो।
फास्ट ट्र्याक निर्माणमा एक विवादित क्षेत्र खोकना अझै समाधान हुन सकेको छैन। सेनाले सबै सम्बन्धित निकायसँग समन्वय गर्दै विवाद समाधान गर्ने प्रयास जारी राखेको छ।
सैनिक प्रवक्ता बस्नेतले भने, “निर्माण कार्य तोकिएको समयसीमा भित्र सम्पन्न हुने लक्ष्य हामीले राखेका छौं। सुरुङ, पुल र सडक निर्माणमा सबै पक्षले सहकार्य गरिरहेको छ।”
फास्ट ट्र्याकले राजधानी र तराईबीचको यात्रा समय छोट्याउने मात्र नभई, व्यवसायिक र आर्थिक गतिविधि तीव्र बनाउने अपेक्षा गरिएको छ।




