विवाहेतर सम्बन्धका कारण हत्या, घरमै बोलाइएका प्रेमीद्वारा श्रीमान र सासुको ज्यान



वीरगन्ज, माघ १६ । बाराको परवानीपुर गाउँपालिका–१ रहरियाडिहमा विवाहेतर सम्बन्धका कारण भएको पारिवारिक विवादले दोहोरो हत्याको रूप लिएको छ । मध्यरातमा घरमै बोलाइएका प्रेमीको आक्रमणबाट एक महिलाको सासु र श्रीमानको ज्यान गएको छ भने परिवारका अन्य तीन जना घाइते भएका छन् ।

माघ १४ गते मध्यराति भएको घटनामा ४६ वर्षीया सुमित्रा देवी मण्डल र उनका छोरा ३१ वर्षीय रामईश्वर मण्डलको धारिलो हतियार प्रहारबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । घटनामा रामईश्वरका पिता जगरूक मण्डल, छोरी २१ वर्षीया रिना कुमारी र बुहारी २३ वर्षीया मनिता देवी घाइते भएका छन् । घाइतेलाई तत्काल उद्धार गरी परवानीपुरस्थित निजी अस्पतालमा उपचारका लागि लगिएको थियो ।

प्रहरीका अनुसार घटनाअघि घरको विद्युत् लाइन काटिएको थियो । प्रारम्भिक अनुसन्धानबाट मनिता देवी र उनका प्रेमी २७ वर्षीय धर्मेन्द्र महतो धानुकको योजनाबद्ध संलग्नता खुलेको छ । धर्मेन्द्र वैदेशिक रोजगारीका लागि युएईमा रहेका र माघ ११ गते मात्र नेपाल फर्किएका थिए । फर्किएपछि उनी परिवारको सम्पर्कमा नबसी मनितासँग सम्पर्कमा रहेको प्रहरीले जनाएको छ ।

प्रहरी अनुसन्धान अनुसार सो रात मनिताले नै धर्मेन्द्रलाई घरभित्र प्रवेश गराएकी थिइन् । शौचालय जाने बहानामा सासु सुमित्रालाई बाहिर बोलाइएपछि धर्मेन्द्रले धारिलो हतियार प्रहार गरी हत्या गरेका थिए । त्यसपछि घरभित्र छिरेर रामईश्वर र जगरूकमाथि पनि आक्रमण गरिएको थियो ।

घटनापछि प्रहरीले मनितालाई अस्पतालबाटै र धर्मेन्द्रलाई भारततर्फ भाग्दै गर्दा पक्राउ गरेको छ । उनीहरूविरुद्ध कर्तव्य ज्यानसम्बन्धी कसुरमा बारा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार विवाहेतर सम्बन्धकै कारण यसअघि पनि परिवारमा विवाद हुने गरेको खुलेको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रकाशित मिति: २०८२ माघ १७, शुक्रवार १३:२४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको