दमक, माघ १६ । झापामा प्रहरी निर्वाचन केन्द्रित अभियानमा जुटेपछि चोरीका घटना बढ्न थालेका छन्। बिहीबार राति बिर्तामोड र अर्जुनधारामा लाखौं रुपियाँ बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ।
बिर्तामोड नगरपालिका–१, पञ्चकन्या प्लटिङस्थित पुनमदेवी साहको दुई तले घरमा कोही नभएको बेला अज्ञात समूहले चोरी गरेको प्रहरीले जानकारी दिएको छ। चोरीको क्रममा सुत्ने कोठाको ताल्चा फुटाई दराजभित्र राखिएको नगद तथा गरगहना निकालिएको थियो। प्रहरीले प्राप्त जानकारी अनुसार सुनका गरगना ६ तोला, चाँदीका १२ तोला र नगद २० हजार रुपैयाँ चोरी भएको छ। मूल्याङ्कनअनुसार चोरी रकम करिब १९ लाख रुपैयाँ पुगेको बताइएको छ।
त्यसैगरी अर्जुनधारा नगरपालिका–९, कालीस्थान सिरानमा पनि चोरीको अर्को घटना भएको छ। स्थानीय नारद पोख्रेलको घरमा दुई जना अपरिचित व्यक्ति प्रवेश गरी सुनका गरगहना २ तोला, चाँदीका ३ तोला, नगद ५५ हजार रुपैयाँ र मोबाइल फोन चोरी गरी लगेका छन्। प्रहरीका अनुसार यस घटनामा करिब ८ लाख रुपैयाँ बराबर धनमाल हराएको छ।
झापाका प्रहरी प्रवक्ता खगेन्द्रबहादुर खड्काले चोरीको विषयमा अनुसन्धान भइरहेको र आवश्यक प्रमाण सङ्कलन गर्दै त्äतभचको पहिचान गर्न कार्य अघि बढाइएको जानकारी दिनुभयो।
प्रहरीले नागरिकलाई आफ्नो घर, ढोका तथा दराजको सुरक्षामा विशेष ध्यान दिन आग्रह गरेको छ। साथै, स्थानीयबासीलाई अनौठो व्यक्ति देखेमा तुरुन्त प्रहरीमा सूचना दिन चेतावनी दिएको छ।
झापामा निर्वाचन नजिकिँदै गर्दा सुरक्षा चुनौती बढेको र चोरी, लुटपाट लगायतका घटनामा सतर्क रहन प्रहरीले विशेष ध्यान दिन थालेको देखिन्छ।




