काठमाडौँ, माघ १६ । सहिद दिवसको अवसरमा प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौँको लैनचौरस्थित सहिद स्मारकमा श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । शुक्रबार बिहान आयोजित कार्यक्रममा प्रधानमन्त्री कार्कीले राष्ट्रका लागि जीवन आहुति दिने सहिदहरूप्रति सम्मान प्रकट गर्दै माल्यार्पण गर्नुभएको हो ।
देश र जनताको हितका लागि आफ्नो जीवन बलिदान गर्ने सहिदहरूको स्मरण गर्दै हरेक वर्ष माघ १६ गते सहिद दिवस मनाइन्छ । प्रधानमन्त्री कार्कीसँगै सरकारका उच्च पदाधिकारी, सुरक्षा निकायका प्रमुख, राजनीतिक दलका प्रतिनिधि तथा सर्वसाधारणले पनि सहिद स्मारकमा पुगेर श्रद्धाञ्जली अर्पण गरेका छन् ।
नेपालमा प्रजातन्त्र स्थापनाका लागि बलिदान दिने चार सहिद—धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठ र शुक्रराज शास्त्री—सहित विभिन्न कालखण्डमा स्वतन्त्रता, लोकतन्त्र र परिवर्तनका लागि ज्यान गुमाउने सम्पूर्ण सहिदको सम्झनामा यो दिवस मनाउने परम्परा छ । राणा शासनविरुद्ध आवाज उठाएको अभियोगमा तत्कालीन शासकले ती सहिदहरूलाई मृत्युदण्ड दिएको थियो ।
सहिदहरूको बलिदानकै कारण जहानियाँ राणा शासनको अन्त्य भई नेपालमा प्रजातन्त्र स्थापना सम्भव भएको इतिहासकारहरू बताउँछन् । तिनै सहिदबाट प्राप्त प्रेरणाले देशमा राजनीतिक चेतनाको विकास भएको र जनताको अधिकार स्थापित भएको स्मरण गरिन्छ ।
प्रत्येक वर्ष माघ १० देखि १६ गतेसम्म सहिद सप्ताह मनाइने गरिन्छ । यस अवधिमा श्रद्धाञ्जली सभा, प्रभातफेरी, अन्तर्क्रिया तथा विभिन्न सचेतनामूलक कार्यक्रम आयोजना गरिन्छ । विसं २०१२ सालदेखि काठमाडौँ नगरपालिकाको संयोजकत्वमा औपचारिक रूपमा सहिद दिवस मनाउन थालिएको हो ।
इतिहासअनुसार, १९९७ सालमा सहिद शुक्रराज शास्त्रीलाई माघ १० गते टेकुको पचलीमा, धर्मभक्त माथेमालाई माघ १३ गते सिफलमा तथा गङ्गालाल श्रेष्ठ र दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा राणा शासकले मृत्युदण्ड दिएका थिए ।
सहिद दिवसले राष्ट्र निर्माणमा सहिदहरूको योगदानलाई स्मरण गर्दै लोकतन्त्रको रक्षा र सुदृढीकरणका लागि प्रतिबद्ध रहन सबैलाई प्रेरणा दिने विश्वास व्यक्त गरिएको छ ।






