एजेन्सी, माघ १८ । पाकिस्तानको बलुचिस्तान प्रान्तमा सक्रिय बलुच लिबरेशन आर्मी ९बीएलए० ले ‘अपरेशन हारुफ’ को दोस्रो चरण सुरु गर्दै एकैसाथ ४८ वटा पाकिस्तानी सैन्य ठेगानामाथि आक्रमण गरेको दाबी गरेको छ। बीएलएले ती आक्रमणमा ८४ जना पाकिस्तानी सैनिक मारिएको दाबी गरेको छ।
शनिबार सार्वजनिक गरिएको विज्ञप्तिमा बीएलएले पाकिस्तानी सेना र प्रहरीलाई लक्षित गरी बलुचिस्तानका विभिन्न स्थानमा एकैपटक आक्रमण गरिएको जनाएको छ। संगठनका प्रवक्ता जियान्द बलुचले यसलाई “कब्जा गर्ने शक्तिविरुद्धको निर्णायक प्रतिरोध” भनेका छन्।
बीएलएले यसअघि ‘अपरेशन हारुफ’ को पहिलो चरण सन् २०२४ अगस्टको अन्त्यतिर सुरु गरेको थियो। पहिलो चरणमा बलुचिस्तानका प्रमुख राजमार्ग तथा सैन्य शिविरहरूलाई लक्षित गरिएको बताइएको छ।
यद्यपि, बलुचिस्तान प्रान्तीय सरकारले बीएलएको दाबीलाई अस्वीकार गर्दै सुरक्षा बलको कारबाहीमा ७० जना विद्रोही मारिएको दाबी गरेको छ। सरकारी विवरणअनुसार शुक्रबार रातिदेखि शनिबार दिउँसोसम्म विद्रोहीहरूले १२ स्थानमा सुरक्षा बल, सरकारी निकाय तथा सर्वसाधारणलाई लक्षित गरी आक्रमण गरेका थिए, जसमा १० जना सुरक्षाकर्मीको ज्यान गएको छ।
बलुचिस्तान सरकारका प्रवक्ता शाहिद रिन्दका अनुसार क्वेटा, ग्वादर, मकरान, हुब, चमन र नसीराबादलगायतका क्षेत्रमा आक्रमण भएका हुन्। ती घटनामा प्रहरी, सीमा सुरक्षा बल र नागरिकसमेत निशानामा परेका छन्।
मुख्यमन्त्री सरफराज बुगतीले सामाजिक सञ्जालमार्फत शुक्रबार राति सुरु भएको सुरक्षा अभियान शनिबार साँझसम्म पनि जारी रहेको बताएका छन्। यता, एक संघीय मन्त्रीले बीएलए लडाकूहरूले ग्वादरमा नागरिकको हत्या गरेको आरोप लगाएका छन्। सूचना मन्त्री अताउल्ला तरारले जियो न्यूजसँगको कुराकानीमा सुरक्षा बल सतर्क अवस्थामा रहेकाले धेरैजसो आक्रमण विफल पारिएको दाबी गरेका छन्।
बलुचिस्तानमा सुरक्षा अवस्था अझै तनावग्रस्त रहेको छ भने दुवै पक्षबाट अभियान जारी रहेको जनाइएको छ।




