चितवन, माघ १८ । पृथ्वी राजमार्गअन्तर्गत नागढुङ्गा-मलेखु सडकखण्डको स्तरोन्नति कार्य सम्झौताअनुसार सम्पन्न हुन नसक्दा आयोजनाको म्याद छ महिनाका लागि थप गरिएको छ। सम्झौताअनुसार तीन वर्षभित्र सम्पन्न हुनुपर्ने यो आयोजनामा हालसम्म करिब ३७ प्रतिशत मात्र काम सम्पन्न भएको छ।
विसं २०७९ पुस १५ गते तीन वर्षमा सम्पन्न गर्ने लक्ष्यसहित नागढुङ्गा–मुग्लिन सडकखण्डलाई तीन चरणमा विभाजन गरी ठेक्का सम्झौता गरिएको थियो। तेस्रो चरणको म्याद गत पुस १५ गते सकिएपछि आयोजनालाई थप छ महिनाको समय दिइएको हो।
नागढुङ्गा–मुग्लिन सडक आयोजना अन्तर्गत पश्चिम खण्ड मुग्लिन–मलेखु सडकका इन्जिनियर विजय दरैका अनुसार प्रारम्भिक डिजाइनका तथ्याङ्क त्रुटिपूर्ण हुँदा सडकको नक्साङ्कन फरक परेपछि तोकिएको समयमा काम गर्न नसकिएको हो। यही कारण निर्माण कम्पनीलाई १८३ दिनको म्याद थप गरिएको उनले जानकारी दिए।
निर्माण कम्पनीले सडक विस्तारका लागि आवश्यक स्थान खाली गर्न ढिलाइ भएको, रुख र विद्युत् खम्बा समयमै सार्न नसकिएको, निर्माण सामग्री सहज रूपमा उपलब्ध नहुनु, सवारी साधनको उच्च चापलगायत कारणले काम प्रभावित भएको जनाउँदै आएको छ। इन्जिनियर दरैले हाल नक्साङ्कनसम्बन्धी समस्या समाधान भइसकेको र अन्य विषयमा छलफल भइरहेको बताए।
उक्त खण्डमा हालसम्म ३७ दशमलव ५ प्रतिशत काम सम्पन्न भएको छ। उनका अनुसार नौ किलोमिटरभन्दा बढी सडकमा कालोपत्र गरिसकिएको छ भने धादिङको चरौदी क्षेत्रमा कालोपत्र भइरहेको छ। फिस्लिङलगायत अन्य क्षेत्रमा पनि कालोपत्रको तयारी भइरहेको छ।
सडक खण्डमा नाली, बेरियर, पुललगायत संरचना निर्माणका काम जारी छन्। हाल दैनिक करिब १५० जना मजदुर खटिएर काम भइरहेको दरैले बताए। थप गरिएको समयभित्र काम सम्पन्न गर्न आयोजनातर्फबाट आवश्यक सहजीकरण गरी निर्माण कम्पनीलाई काम तीव्र बनाउन निर्देशन दिइएको उनले जानकारी दिए।
मुग्लिन–मलेखु सडकखण्डको लम्बाइ ३८ दशमलव ८६ किलोमिटर रहेको छ। यसमध्ये मलेखु, बेनीघाट र मुग्लिन क्षेत्रमा पर्ने २ दशमलव २ किलोमिटर सडक छ लेनको बन्नेछ। त्यस्तै रमाइलो डाँडा, कुरिनटार, फिस्लिङ, चुम्लिङ, मझीमटार, चरौदी र विशालटार क्षेत्रमा पर्ने ७ दशमलव २ किलोमिटर सडक चार लेनको हुनेछ। उकालो–ओरालो खण्डमा २ दशमलव ३ किलोमिटर ‘क्लाइम्बिङ लेन’ निर्माण गरिनेछ भने बाँकी सडक दुई लेनको हुनेछ।
यस खण्डको स्तरोन्नतिका लागि शर्मा–जेडआइसिजी कम्पनीले ४ अर्ब ८० करोड ५९ लाख रुपैयाँमा ठेक्का लिएको हो। सडकका विभिन्न भागमा कालोपत्र, नाली निर्माण, पहिरो रोकथामका संरचना, भित्तो काट्ने, पर्खाल लगाउने तथा सडक सुरक्षासम्बन्धी काम अझै बाँकी छन्।
विश्व बैंकको सहयोगमा निर्माण भइरहेको यो सडक काठमाडौँ प्रवेश र बहिर्गमन गर्ने प्रमुख नाकाका रूपमा रहेको छ।




