सप्तरी, माघ १८ । जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले स्थिर शासन प्रणालीका लागि जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली एक मात्र विकल्प रहेको बताएका छन ।
जसपा नेपालका अध्यक्ष तथा सप्तरी क्षेत्र नम्बर–३ का प्रतिनिधिसभा उम्मेदवारसमेत रहेका यादवले आइतबार चुनावी अभियानका क्रममा पार्टी प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली र समानुपातिक समावेशी प्रतिनिधित्वमा आधारित संसदीय संरचनाको पक्षमा दृढ रहेको स्पष्ट पारे।
चुनावी प्रचारप्रसारमा व्यस्त अध्यक्ष यादवले वर्तमान संसदीय अभ्यासप्रति असन्तुष्टि जनाउँदै भने, “बारम्बार सरकार फेरिने, मन्त्री बदलिने र नीति तथा योजना अलपत्र पर्ने अवस्था अब सह्य छैन। देशलाई स्थिर, जवाफदेही र जनउत्तरदायी शासन प्रणालीको खाँचो छ, जसका लागि जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली अपरिहार्य भइसकेको छ।”
उनले गठबन्धन सरकारहरूको अस्थिरताले विकास निर्माण, सुशासन र आर्थिक सुधारमा गम्भीर असर पारेको उल्लेख गरे। पाँच वर्षे कार्यकाल पूरा गर्न नसक्ने सरकार, सत्ताको जोडघटाउमा अल्झिएको राजनीति र नीतिगत निरन्तरताको अभावका कारण जनतामा निराशा बढ्दै गएको उनको भनाइ छ।
“प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीले शासनलाई स्थिर बनाउने मात्र होइन, जनताप्रति प्रत्यक्ष उत्तरदायी पनि बनाउँछ,” यादवले भने, “राष्ट्रपति जनताले सिधै चुन्ने भएकाले शक्तिको स्रोत पार्टी होइन, जनता हुन्छन्। जनताले चुनेको राष्ट्रपतिको पहिलो उत्तरदायित्व सरकार टिकाउने सम्झौता होइन, जनताको हित हुन्छ।”
जसपा नेपालले प्रस्ताव गरेको प्रणालीअनुसार संसद् पूर्ण रूपमा समानुपातिक र समावेशी प्रतिनिधित्वमा आधारित हुने र यसले मधेशी, आदिवासी जनजाति, दलित, महिला, थारू, मुस्लिम, पिछडिएको क्षेत्र तथा सीमान्तकृत समुदायको न्यायोचित प्रतिनिधित्व सुनिश्चित गर्ने अध्यक्ष यादवले विश्वास व्यक्त गरे।
शासन प्रणालीकै कमजोरीका कारण विगतमा दर्जनौँ सरकार परिवर्तन भएको स्मरण गर्दै उनले भने, “धेरै सरकारले एक वर्ष पनि पूरा गर्न सकेनन्। यसले अर्थतन्त्र, लगानीको वातावरण र प्रशासनिक स्थायित्वमा नकारात्मक असर पारेको छ। नीति बन्यो, सरकार फेरियो, नीति अलपत्र पर्यो—यही चक्र दोहोरिँदा जनताले के पाएरु”
चुनाव नजिकिँदै जाँदा जसपा नेपालले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीलाई आफ्नो प्रमुख राजनीतिक एजेन्डाका रूपमा देशभर उठाउँदै आएको छ।




