बागमती नदीमा अवैध उत्खनन बढ्दा लक्ष्मीपुर–गम्हरिया डुबानको जोखिम, रोक्न राजकुमार दासद्वारा ध्यानाकर्षण



ओम प्रकाश यादव
रौतहट, माघ १८। रौतहटको गढिमाइ नगरपालिका–३ लक्ष्मीपुरस्थित बागमती नदीबाट अवैध रूपमा दैनिक सयौं ट्र्याक्टर ढुंगा, गिट्टी र बालुवा उत्खनन हुँदा लक्ष्मीपुर र गम्हरिया गाउँ डुबानमा पर्ने खतरा बढेको छ।

स्थानीयका अनुसार बागमती नदीबाट मापदण्ड विपरीत नदीजन्य पदार्थको अवैध उत्खनन लामो समयदेखि हुँदै आएको छ। नदीको प्राकृतिक बहाव अवरुद्ध हुने गरी जथाभावी ढुंगा, गिट्टी र बालुवा निकालिँदा नदीको धार परिवर्तन हुने र वर्षायाममा बस्ती डुबानमा पर्ने जोखिम बढ्दै गएको छ। विशेषगरी लक्ष्मीपुर र गम्हरिया क्षेत्रका बस्ती, खेतबारी तथा पूर्वाधार उच्च जोखिममा परेको स्थानीयको गुनासो छ।

यसैबीच रौतहट क्षेत्र नं ४ बाट जनता समाजवादी पार्टी ९जसपा० नेपालका प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार राजकुमार दास तत्माले बागमती नदीमा भइरहेको अवैध उत्खनन तत्काल रोक्न माग गर्दै प्रमुख जिल्ला अधिकारीसहित सरोकारवाला तथा सम्बन्धित निकायका पदाधिकारीको ध्यानाकर्षण गराएका छन्।

दासले अवैध उत्खननले वातावरणीय क्षति बढ्नुका साथै स्थानीयको जनजीवन र सुरक्षामा गम्भीर असर पारिरहेको बताउँदै कानुनी मापदण्डअनुसार मात्र नदीजन्य पदार्थ संकलन गर्न र अनुगमन कडा बनाउन माग गरेका छन्। उनले समयमै नियन्त्रण नगरे ठूलो डुबान र क्षति हुन सक्ने चेतावनीसमेत दिएका छन्।

स्थानीय बासिन्दाले पनि सम्बन्धित निकायको प्रभावकारी अनुगमन र तत्काल कारबाहीको माग गरेका छन्। अवैध उत्खनन रोकिन नसके आगामी दिनमा ठूलो विपद् निम्तिन सक्ने भन्दै उनीहरूले चिन्ता व्यक्त गरेका छन्।

प्रकाशित मिति: २०८२ माघ १९, आइतवार ०७:४६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको