काठमाडौं, माघ १८। संघीय संसद् सचिवालयले २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनपछि गठन हुने नयाँ संसद्को बैठक सिंहदरबारस्थित नयाँ संसद् भवनमै सञ्चालन हुने स्पष्ट पारेको छ।
संघीय संसद् सचिवालयका प्रवक्ता तथा सहसचिव एकराम गिरीका अनुसार प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएपछि संसद् बैठक सञ्चालनका विषयमा सरकारसँग निरन्तर समन्वय भइरहेको छ। उनले हाल सिंहदरबार परिसरमै रहेको नयाँ संसद् भवन प्रयोग गर्ने तयारी गरिएको जानकारी दिए।
प्रवक्ता गिरीले नयाँ संसद् भवनबाहेक अन्य विकल्पबारे हालसम्म कुनै छलफल नभएको स्पष्ट पारे। उनका अनुसार नयाँ भवनमा बैठक सञ्चालनका लागि आवश्यक न्यूनतम भौतिक पूर्वाधार उपलब्ध हुने विश्वास संसद् सचिवालयले लिएको छ।
उनले अधिवेशन आह्वान हुनुभन्दा करिब १५ देखि २० दिनअघि सभा कक्षसहित आवश्यक पूर्वाधारहरू संसद् सचिवालयलाई हस्तान्तरण गरिने जानकारी दिए। हाल निर्माणाधीन नयाँ संसद् भवनअन्तर्गत प्रतिनिधिसभातर्फ निर्माण भइरहेका १२ कक्षमध्ये बैठक कक्षसहित ६ वटा कक्ष उपलब्ध भइसकेको अवस्थामा बैठक सञ्चालन सम्भव देखिएको उनको भनाइ छ।
प्रवक्ता गिरीले तत्कालका लागि न्यूनतम पूर्वाधारको प्रयोग गरी बैठक सञ्चालन गरिने र निर्माण कार्य पूर्ण भएपछि क्रमशः अन्य गतिविधिहरू पनि नयाँ भवनबाटै सञ्चालन गरिने तयारी रहेको बताए। यसअघि संसद् सचिवालयले नयाँ सांसदहरूका लागि आवश्यक व्यवस्थापन गर्न सरकारलाई पत्राचारसमेत गरिसकेको छ।




