जेनजी आन्दोलनमा क्षतिग्रस्त सिंहदरबारको पुनर्निर्माण यसै वर्ष सुरु हुने



काठमाडौं, माघ २० । जेनजी आन्दोलनमा क्षति पुगेको सिंहदरबारको पुनर्निर्माण कार्य चालु आर्थिक वर्ष २०८२ भित्रै सुरु गर्ने तयारी सरकारले गरेको छ। भदौ २४ गते आन्दोलनका क्रममा सिंहदरबारको मूल भवन तथा परिसरभित्रका विभिन्न संरचनामा आगजनी र तोडफोड भएपछि पुनर्निर्माणको प्रक्रिया अघि बढाइएको हो।

सिंहदरबारभित्र रहेका भौतिक संरचनाको निर्माण तथा मर्मतसम्भार सहरी विकास मन्त्रालयअन्तर्गतको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले गर्दै आएको छ। उक्त कार्यालयका अनुसार क्षतिग्रस्त संरचनाको पुनर्निर्माण कार्य यसै वर्षभित्र सुरु गर्ने तयारी भइरहेको छ।

हाल सिंहदरबारको मूल भवनसहित परिसरभित्र रहेका अन्य संरचनामा पुगेको क्षतिको विस्तृत अध्ययन भइरहेको छ। संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयका अनुसार पुलचोक इन्जिनियरिङ कलेजले क्षतिको प्राविधिक अध्ययन गरिरहेको छ। कलेजले यसै महिनाभित्र प्रतिवेदन बुझाउने अपेक्षा गरिएको छ।

प्रतिवेदन प्राप्त भएपछि पुनर्निर्माणका लागि टेन्डर आह्वान गर्ने तयारी गरिएको कार्यालयले जनाएको छ। प्रारम्भिक अनुमानअनुसार सिंहदरबारको मूल भवनमा भएको आगजनीबाट मात्रै झण्डै एक अर्ब रुपैयाँ बराबरको संरचनागत क्षति पुगेको छ। यद्यपि, पुरातात्विक महत्वका सम्पत्तिमा भएको क्षतिको मूल्यांकन भने हालसम्म हुन सकेको छैन।

प्रकाशित मिति: २०८२ माघ २०, मंगलवार १०:०८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको